साकेला- खोटाङको साकेला गाउँपालिकामा विविध कार्यक्रम गरि २० औं सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ । गाउँपालिकास्थित स्वास्थ्य शाखाको संयोजनमा पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । गाउँपालिका उपाध्यक्ष विर्सिका राईको प्रमुख आथित्यता तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको सभापतित्वमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा मात्तिम स्वास्थ्य चौकीको टिम प्रथम भएसँगै नगद तीन हजार रुपैंयाको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै साकेला-२ रतन्छा (क) टिम दोश्रो र साकेला-३ खिदिमा (क) तृतीय भएका छन् । प्रतियोगिताको दोश्रो र तेश्रो हुने टिमलाई क्रमश दुई हजार पाँच सय र दुई हजार रुपैंयाको साथमा प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक रिता ढकालले जानकारी दिनुभयो । हाजिरी जवाफ प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।
स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला स्वास्थ्य स्वयंसेविकाहरुको संयुक्त प्रयास भन्ने मूल नाराको साथ मनाईएको दिवसको अवसर पारेर पालिकाभित्रका स्वास्थ्य चौकी, स्वास्थ्य एकाई केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा पाँच वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका सहितको टोलीले प्ले कार्ड र ब्यानर सहित मानेभञज्याङ बजारमा प्रभातफेरी कार्यक्रम समेत गरेका थिए ।
प्रतिक्रिया