साकेला- नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको दादुरा-रुबेला खोप अभियान अन्तर्गत साकेला गाउँपालिकामा आज मंगलबारदेखि जन्मिएको ९ महिनादेखि पाँच वर्ष सम्मका सबै बालबालिकालाई खोप लगाउन सुरु गरिएको छ ।आगामी चैत्र ३ गते सम्म पालिकाका २८ वटा खोप केन्द्रहरुबाट सबै बालबालिकालाई दादुरा-रुबेला खोप लगाईनेछ।
खोपको पहिलो दिन वडा नम्बर १ बाँझेच्यानडाँडाका ४० जना, वडा नम्बर २ रतन्छाका २५ जना, वडा नम्बर ३ खिदिमाका ६२ जना, वडा नम्बर ४ मात्तिमका ४५ जना र वडा नम्बर ५ मात्तिमबिर्ताका १४ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाईएको स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयालले जानकारी दिनुभयो ।
नेपाल सरकारले आगामी सन् २०२६ सम्ममा दादुरा-रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ । दादुरा-रुबेलाबाट सङ्क्रमित एक जनाबाट १८ जनासम्मलाई संक्रमण सर्ने भएकाले यसलाई कोभिडभन्दा खतरनाक संक्रामक रोग मानिन्छ । नियमित खोप छुटेको अवस्थामा पाँच वर्षसम्म छुट खोप तालिका अनुसार खोप केन्द्र मार्फत खोप लगाउने सकिने गाउँपालिकास्थित स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभयो ।
दादुरा मिजल्स भाईरसको कारण अति छिटो सर्ने संक्रामक रोग हो । स्वास्थ्यकर्मीका अनुसार दादुरा-रुबेलाको संक्रमण भएको अवस्थामा बालबच्चालाई ज्वरो आउने, शरीरमा रातो बिमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, आँखा पाक्ने, रुघाखोकी लगायतका लक्षण देखा पर्न सक्छन् । यो खोप कार्यक्रम देशैभरी नै नियमित रुपमा सन्चालन गरिँदै आएको छ।
प्रतिक्रिया