साकेला- खोटाङको साकेला गाउँपालिकामा सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि घुम्ती शिविरबाट २८१ जना लाभग्राहीले सेवा लिएका छन् । अपाङ्गता भएका व्यक्तिको पहिचान गरि परिचयपत्र वितरण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमार्फत १७९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ ।
परिचयपत्र प्राप्त गरिसकेका लाभग्राहीको अद्यावधिक र नयाँ लाभग्राही पहिचानका लागि गत जेष्ठ १७ गतेदेखि शिविर सुरु गरिएको थियो । जस अन्तर्गत नयाँ लाभग्राहीको रुपमा ११५ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् भने पुराना १७९ जनालाई प्रतिलिपी जारी गरिएको छ । पालिकाको सबै वडाका लाभग्राहीहरुलाई लक्षित गरि उनिहरुको पायक पर्ने स्थानमा शिविर आयोजना गरिएको थियो ।
शिविर अन्तर्गत वडा नम्बर १ बाँझेच्यानडाँडामा नयाँ लाभग्राही ३९ जना, वडा नम्बर २ रतन्छामा नयाँ लाभग्राही २३ जना, वडा नम्बर ३ खिदिमामा नयाँ लाभग्राही १८ जना, वडा नम्बर ४ मात्तिममा नयाँ लाभग्राही २० जना र वडा नम्बर ५ मा १५ जना नयाँ लाभग्राहीको रुपमा सूचिकृत भई परिचयपत्र प्राप्त गरेका छन् ।
जसअन्तर्गत गाउँपालिकाभित्र (क) वर्गको रातो कार्ड पाउने अपाङ्गता भएका व्यक्तिको सङ्ख्या २९ रहेको छ । (ख) वर्गको निलो कार्ड पाउनेहरुको सङ्ख्या ६४ जना रहेका छन् । त्यस्तै पहेँलो कार्ड प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या ४३ रहेको छ भने सेतो कार्ड पाउनेहरुको सङ्ख्या ४१ रहेको बताईएको छ । सरकारले अपाङ्गता भएका (क) र (ख) रातो र निलो कार्ड प्राप्त गर्ने व्यक्तिहरुलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । रातो कार्ड प्राप्त गर्ने लाभग्राहीले मासिक ३ हजार ९९० र निलो कार्ड प्राप्त गर्ने लाभग्राहीले मासिक २ हजार १२८ रुपैंया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा साकेला गाउँपालिकाको पाँच वटै वडामा अपाङ्गता रोकथाम तथा पुनस्थापना शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा परिवारको लागि गाउँपालिकाको तर्फबाट थप कार्यक्रम बिस्तार गर्दै लगिने साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर नेपाल र करुणा फाउन्डेशन नेपालको ३५/३५ प्रतिशत तथा साकेला गाउँपालिकाको ३० प्रतिशत लगानीमा साकेला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि कार्यक्रम सञ्चालन भईरहेको छ ।
प्रतिक्रिया