साकेला- फितलो व्यवस्थापन, पुरानै विधीको शिक्षण सिकाइ र कमजोर पठन पाठन सामुदायिक विद्यालयमाथि लाग्ने आरोप हुन्। केहीको हकमा साँचो भए पनि अधिकांशको हकमा आरोप सावित हुने देखिन्छ।
खोटाङको साकेला गाउँपालिकामा पछिल्लो समय प्रविधिमैत्री, व्यवहारिक र नैतिक शिक्षण सिकाई गर्न सामुदायिक विद्यालयहरुलाई निर्देशन दिईएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईले हरेक विद्यालयमा शिशु कक्षादेखि नै प्रविधिमा आधारित व्यवहारिक र नैतिक शिक्षा पठन पाठन गर्न जोड दिँदै आउनुभएको छ ।
शिक्षा समृद्धिको आधार भएको हुँदा सानै कक्षादेखि विद्यार्थीलाई नैतिकवान, अशल व्यवहार र परिवर्तित प्रविधियुक्त समाजबारे शिक्षा प्रदान गर्न सकियो भने खस्कँदो शैक्षिक अवस्थामा समेत सुधार आउने अध्यक्ष राईको विश्वास छ ।
यसै क्रममा गाउँपालिकाले पालिकाका तीन वटा माध्यमिक विद्यालयलाई स्मार्ट शिक्षण सिकाईका लागि स्मार्ट टिभी प्रदान गरेको छ । वडा नम्बर ५ को सरस्वती माध्यमिक विद्यालय, वडा नम्बर ३ को सिद्देश्वरी माध्यमिक विद्यालय र वडा नम्बर १ को चण्डेश्वरी प्रस्तावित माध्यमिक विद्यालयलाई पालिकाले प्रविधिमैत्री शिक्षण सिकाईका लागि स्मार्ट टेलिभिजन प्रदान गरेको हो ।
गाउँपालिका प्रमुख रवि प्रकाश राई सहित उपाध्यक्ष बिर्सिका राई र शिक्षा शाखा संयोजक कविराज राईले सो विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गर्नुभएको हो । पालिकाले निर्माण गरेको आवधिक योजनामा समेत गाउँपालिकालाई डिजिटल पालिका निर्माण गर्ने विषयलाई गौरवको योजनामा राखेर काम प्रारम्भ गरेको छ । डिजिटल पालिका निर्माण गर्ने अभियानलाई यस कार्यले सहयोग पुर्याउने अध्यक्ष राईको भनाई छ ।
पालिका भित्रका माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म कम्प्यूटर शिक्षा पढाई हुने गरेको छ । यस शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सानो कक्षादेखि नै अनिवार्य अंग्रेजी, कम्प्युटर लगायतको विषय पठनपाठन हुने जनाईएको छ भने हप्ताको शुक्रबार अतिरिक्त क्रियाकलापसँगै नैतिक विषयमा पठनपाठन गर्ने गरि गाउँ शिक्षा समितिको वैठकले निर्णय पारित गरेको छ ।
विद्यालयले विज्ञान, गणित, नेपाली र अंग्रेजी विषय यसै शैक्षिक वर्षदेखि स्मार्ट शिक्षण सिकाईको माध्यमबाट पठन पाठन गर्न सुरुवात गरिने शिक्षा शाखा संयोजक कविराज राईको भनाई छ ।प्रविधिले समय अनुकुल शिक्षा विकासमा पनि टेवा पुग्ने उहाँको विश्वास छ।
प्रतिक्रिया