साकेला- सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि साकेला गाउँपालिकाले सुरु गरेको सामुदायिक विद्यालयको अनुगमन गर्ने कार्यलाई निरन्तरता दिईरहेको छ । विद्यालयको समग्र भौतिक अवस्था, शिक्षक-शिक्षिकाले विषयवस्तु अनुसार पठनपाठन गराए-नगराएको, विद्यालयमा नियमित उपस्थित हुने गरेको या नगरेको, विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थित भएनभएको, विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष ठीक भएनभएको, विद्यालयमा सरसफाईको कार्यलाई निरन्तरता दिएनदिएको लगायतका विविध विषयलाई प्राथमिकतामा राखि पालिकाले विद्यालयहरुको प्रत्यक्ष अनुगमन गरिरहेको हो ।
यसैबीच आज शुक्रबार साकेला गाउँपालिका-२ रतन्छास्थित साकेला माध्यमिक विद्यालयमा पुगेको टोलीले सो विद्यालयको अनुगमन गरि विद्यालयको पठनपाठन सुधारका लागि सुझाव प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको संयोजकत्वमा विद्यालय पुगेको टोलीले विद्यालयद्धारा हरेक शुक्रबार गरिने अतिरिक्त क्रियाकलापमा समेत सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् । सोही अवसरमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष राईले विद्यार्थी बालवालिकाहरुलाई नैतिकवान र जिम्मेवार बनाउन हरेक सामुदायिक विद्यालयहरुमा नैतिक शिक्षाको थालनी गर्नुपर्ने र अतिरित्त क्रियाकलापको सट्टामा नैतिक शिक्षाको थालनी गर्न विद्यालयलाई सुझाव दिनुभयो । बालबालिकामा नैतिक शिक्षाको ज्ञान भयो भने समृद्ध समाज निर्माण हुने बताउनुहुँदै अध्यक्ष राईले सुशासित र अनुशासित हुन अभिप्रेरित हुने भएकाले नैतिक शिक्षा जरुरी भएको सुझाउनुभयो ।
उक्त टोलीले सो विद्यालयको कक्षाकोठा, व्यवस्थापकीय अवस्था, भौतिक तथा प्रशासनिक व्यवस्थापनको विषयमा अनुगमन र निरिक्षण गरेको हो । अनुगमनको क्रममा विद्यालयहरुको शैक्षिक अवस्थाबारे सुक्ष्म ढंगले जानकारी लिई कमजोरी पाइए सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक र विद्यार्थी दुवैलाई सुझाव दिन थालेको हो । पालिकाभित्रका २८ वटै सामुदायिक विद्यालयमा पुगेर अनुगमन गरिने गाउँपालिकाले जनाएको छ ।
अनुगमनले साकेला गाउँपालिकाको समग्र शैक्षिक अवस्थालाई सुधार हुँदै गएको पाइएको तथा आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने वातावरण बनाउने अपेक्षा लिइएको छ । हरेक विद्यालय पठनपाठनकै समयमा पुगेर गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिने गरेको टोलीले विषयवस्तुप्रति शिक्षक शिक्षिका गम्भीर छन् छैनन् र विद्यार्थीहरुमा पठनपाठनप्रति लगाव र अनुशासित छन् छैनन् भन्ने कुरासम्मको निगरानी राख्ने अध्यक्ष राईले बताउनुभयो ।
विद्यालयमा पठनपाठन नगराएको, सरसफाई नगरेको, शिक्षकहरु राजनीतिक गुटवन्दीमा लागेको, विद्यार्थीहरुलाई राजनैतिक संगठनमा समावेश गराउने गरेको लगायत जनगुनासो आउने गरेकाले छड्के अनुगमन सुरु गरेको पनि अध्यक्ष राईले बताउनुभयो । विद्यालयको सुधारका लागि जुनसुकै बेला कुनै पनि विद्यालयम अनुगमन टोली पुग्ने बताउँदै उहाँले अनुगमनका क्रममा कमीकमजोरी भेटिए सोही बमोजिम कारवाही गर्ने चेतावनी पनि अध्यक्ष राईले दिनुभएको छ ।
‘साकेलाको शैक्षिक अवस्था सुधार गर्दै सुखद र उत्कृष्ट नतिजा ल्याउने प्रयत्नमा हामी निरन्तर लागि रहनेछौं । राम्रोलाई पुरस्कार र नराम्रो गर्नेलाई सजायको भागीदार बशनाइनेछ’ अध्यक्ष राईले भन्नुभयो ‘त्यसैले सबै विद्यालय र शिक्षक शिक्षिका तथा विद्यार्थी र सरोकारवालाहरुलाई जिम्मेबार र जवाफदेही भएर लाग्न आग्रह गर्दछु ।’
प्रतिक्रिया