मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको अध्यक्ष राईको भनाई

    साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले स्वास्थ्य क्षेत्र मानव जीवनमा अति संवेदनशिल क्षेत्र भएकाले नागरिकको समस्याप्रति सचेत भएर आफूले पाएको जिम्मेवारी पुरा गर्न सुझाव दिनुभएको छ । आफूले पाएको जिम्मेवारी पुरा गर्ने क्रममा एकले अर्काको अस्थित्व स्वीकार्दै काम गर्न सकियो भने जीवन सुन्दर हुनुका साथै पालिका आफै सुसंस्कृत र संस्थागत हुने र समृद्धिको गन्तव्यमा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

    शुक्रबार साकेला आधारभूत अस्पताल रतन्छामा आयोजना भएको महिला स्वास्थ्य स्वयम सेविकाको विदाई र नयाँलाई स्वागत गर्ने क्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा अध्यक्ष राईले सो कुरा बताउनुभएको हो । उहाँले आफूले पाएको जिम्मेवारी नैतिक रुपमा गम्भीर र संवेदनशिल भएर पुरा गर्न स्वास्थ्यकर्मी, कर्मचारी र सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

    आफूले पाएको जिम्मेवारीलाई नैतिक र व्यवहारिक रुपमा पुरा गर्न सक्दा मात्र परिणाम नतिजा मूलक हुने र पालिकासँगै समग्र देश विकासमा ठूलो टेवा पुग्ने विश्वास अध्यक्ष राईले व्यक्त गर्नुभयो । महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको र आफूले काम गरिरहेको समुदाय र स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेको अध्यक्ष राईले बताउनुभएको छ ।

    सो क्रममा साकेला गाउँपालिका-२ रतन्छामा महिला स्वास्थ्य स्वयम सेविकाको रुपमा लामो समयदेखि काम गर्दै आउनुभएका तीन जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई विदाई गरिएको छ । आफ्नो जीवनकालको २१ वर्ष महिला स्वास्थ्य स्वयम सेविका भई समाज रुपान्तरणमा योगदान पुर्याउनुहुने दुर्गा राई, १८ वर्ष सेवा गर्नुहुने मिनाकला राई र १३ वर्ष काम गर्नुभएको करुणा राईलाई सो कार्यक्रमका बीच दोसल्ला, सम्मानपत्र र मायाको चिनो प्रदान गरि विदाई गरिएको छ ।

    शारीरिक अस्वस्थता तथा पारिवारिक समस्याका कारण सेवाबाट बाहिरिनुभएका महिला स्वास्थ्य स्वयम सेविकाको सट्टामा रिता राई, संगिता राई र गंगादेवी राईलाई नयाँ स्वास्थ्य स्वयम सेविकाको रुपमा स्वागत समेत गरिएको छ । विदाई हुनुहुने र नयाँ आउनुहुने स्वास्थ्य स्वयम सेविकाहरुलाई गाउँपालिका प्रमुख राई सहित साकेला माविका प्रधानाध्यापक शिवेन्द्रकुमार राई, स्वास्थ्य शाखा संयोजक रिता ढकाल, २ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष भक्त बहादुर कटवाल लगायतले सम्मान गर्नुभएको थियो ।

    खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको स्वास्थ्य शाखा संयोजक ढकालको भनाई छ । साकेला गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई मासिक तीन हजार रुपैंया प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आईएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ देखि थप एक हजार बढाएर मासिक चार हजार रुपैंया प्रोत्साहन भत्ता उपलब्ध गराईदै आईएको छ । स्वास्थ्य स्वयम सेविकाको विदाई तथा स्वागत कार्यक्रममा साकेला आधारभूत अस्पतालका डाक्टर किशन घिमिरे लगायत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको पनि उपस्थिति रहेको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया