साकेला- शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी, गुणस्तरीय र नतिजा मूलक बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ साकेला गाउँपालिकाले थालेको विद्यालय अनुगमनको क्रममा आज आईतबार वडा नम्बर ३ मा रहेको सिद्वेश्वरी माध्यमिक विद्यालयमा छड्के अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राई सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, शिक्षा शाखा संयोजक कविराज राई सहितको टोलीले विद्यालयको छड्के अनुगमन गरि विद्यालयले पठनपाठन, भौतिक अवस्था, सरसफाई र नियमितताबारे सुझाव प्रदान गरेको छ ।
विद्यालयमा प्रभावकारी पठनपाठन हुने नगरेको, शिक्षक तथा विद्यार्थी समयमा विद्यालयमा उपस्थित भई पठनपाठन गर्ने गराउने नगरेको, शिक्षक तथा विद्यार्थीहरु राजनैतिक गतिविधिमा लाग्ने गरेको, पूर्ण सरसफाईलाई ध्यान नदिएको, अव्यवस्थित भौतिक संरचना कायम राखेको लगायतका विविध विषयमा गुनासो आउने गरेको र गुणस्तरहीन नतिजाका कारण नियमित रुपमा विद्यालयको अनुगमन गरि यथार्थ बुझ्ने प्रयास स्वरुप सामुदायिक विद्यालयहरुको अनुगमनलाई निरन्तर दिईएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
गुणस्तरीय शिक्षा प्रदान गरि अपेक्षामूलक नतिजा ल्याउनका लागि सुक्ष्म ढंगबाट कमी कमजोरि पत्ता लगाउने उदेश्यका साथ अनुगमनको कार्यलाई नियमितता दिईएको हो –अध्यक्ष राईले भन्नुभयो सामुदायिक विद्यालयहरुको नतिजामा सुधार ल्याई परिणाममुखी शिक्षाको खोजीमा छौं, यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी, सरोकारवाला व्यक्ति सबैले साथ दिनुपर्छ ।
यसैबीच, अध्यक्ष राईले सो विद्यालयमा अध्ययनरत विद्यार्थी वालवालिकाहरुसँग अन्तर्क्रिया समेत गर्नुभएको छ । नियमित पठनपाठन, विषयवस्तु अनुसारको ज्ञान, समयको पालना, विद्यालय तथा कक्षाकोठा सरसफाईको अवस्था, व्यक्तिगत आचारण र बानि व्यहोरा, जीवनको महत्व, समयको महत्व, विज्ञानले बनाएको समय, नैतिक र व्यवहारिक ज्ञान लगायतका बारेमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।
विद्यालयको भौतिक, शैक्षिक, अनुशासन, प्रशासनिक, सरसफाई र विद्यार्थी उपस्थितिसम्मको समग्र विषयको सुधारका लागि अनुगमन कार्यलाई निरन्तरता दिइने गाउँ शिक्षा समितिले जनाएको छ । विद्यालयमा शिक्षक शिक्षिका नियमित उपस्थित छन् छैनन, भए पनि पठनपाठन नियमित गरेका छन् कि त्यत्तिकै बसेका छन् अनुगमनमा हेर्ने गरिएको छ । विद्यालयमा प्रधानाध्यापकले जिम्मेबारी अनुसार प्रशासन चलाएका छन् या छैनन्, शिक्षकहरुले विषयगतभन्दा बाहिर गएर पढाएका छन् कि, विद्यार्थीको उपस्थिति कस्तो छ, सरसफाईको अवस्था के छ आदि इत्यादि विषयहरु अनुगमनका सूचक बनाइएको अध्यक्ष राईले बताउनुभयो । विषयवस्तु अनुसार पठनपाठन गराए नगराएको, विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष ठिक छ छैन भन्ने कुरा पनि अनुगमन गर्ने गरिएको छ ।
त्यस्तै, शैक्षिक कार्यमा नयाँ विधि प्रयोग गर्न, अंग्रेजी शिक्षण गर्दा अंग्रेजी भाषाको माध्यमबाट शिक्षण गर्न, मूल्याङ्कनदेखि नतिजासम्म पारदर्शिता कायम गर्न, कक्षा शिक्षणमा समयसम्म रहेर शिक्षण गर्न, शिक्षकहरुले नेपाल सरकारले निर्धारण गरेको पोषाक नियमित लगाउन, कक्षाकोठा व्यवस्थापन प्रभावकारी तवरले गर्न, विद्यालयमा राजनैतिक गतिविधि र क्रियाकलाप बन्द गर्न, विद्यार्थिका लागि टाई, बेल्ट र परिचयपत्र अनिवार्य गर्न, विषयवस्तु अनुसार मिल्दोजुल्दो शैक्षक समाग्रिको प्रयोग गर्न, विद्यालय र कक्षाकोठा तथा वरिपरिको वातवरण सफा राख्ने लगायतका सुझाव अनुगमन पश्चात विद्यालयलाई दिईएको शिक्षा शाखा संयोजक कविराज राईले बताउनुभयो ।
प्रतिक्रिया