असोज २६, २०८३ सोमबार

सडक सरसफाइमा जुट्यो साकेला

खोटाङ । दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै खोटाङको साकेला गाउँपालिकाले पालिकाभित्रका मुख्य तथा शाखा सडकको सरसफाइ र मर्मतलाई तीव्रता दिएको छ । वर्षाका कारण बिग्रिएका सडकलाई सहज र सुरक्षित बनाउने उद्देश्यले गाउँपालिकाले आफ्नै मेसिन प्रयोग गरी सडक सरसफाइ सुरु गरेको हो ।

गाउँपालिकाले मिनेडाँडा–मबु–नैनेपाटी सडक तथा कात्तिके–सोस्तुङ–रतन्छा–नैनेपाटी सडकमा खाल्डाखुल्डी पुर्ने, नाली सफा गर्ने, पहिरो पन्छाउने तथा सडकमा थुप्रिएको माटो र ढुङ्गा हटाउने काम गरिरहेको छ ।चाडपर्वमा घर फर्किने नागरिक, आफन्त भेट्न आउने पाहुना तथा दैनिक आवतजावत गर्ने स्थानीयलाई सडकका कारण असहज नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले दसैँअघि नै सडक सुधारको कामलाई प्राथमिकता दिएको हो ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले चाडपर्वमा आफ्नो गाउँ फर्किने नागरिकले बाटोकै कारण दुःख पाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँ भनेको आफ्नो परिवार, आफन्त र जन्मभूमिसँग जोडिने पर्व हो । वर्षभरि काम र विभिन्न सिलसिलामा बाहिर रहेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू यही बेला गाउँ फर्किनुहुन्छ । उहाँहरू आउँदा बाटो बिग्रिएर सास्ती भोग्नुपर्ने अवस्था नहोस्, गाउँमा सहज रूपमा आवतजावत गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले गाउँपालिकाको आफ्नै मेसिन प्रयोग गरेर सडक सरसफाइ र मर्मतको काम अघि बढाएका छौँ ।”

अध्यक्ष राईले सडक पूर्वाधार नागरिकको दैनिक जीवन, कृषि उपजको ढुवानी, बिरामीको आवतजावत तथा स्थानीय आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै चाडपर्वमा मात्र नभई अन्य समयमा पनि सडकलाई सहज बनाउनेतर्फ गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, “गाउँपालिका भनेको नागरिकलाई अप्ठ्यारो पर्दा साथ दिने सरकार हो । सडक बिग्रिएपछि नागरिकले सास्ती भोगिरहने र हामीले हेरेर बस्ने होइन । उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर नागरिकलाई सहजता दिनु हाम्रो जिम्मेवारी हो । दसैँमा गाउँ आउने आफ्ना नागरिक र पाहुनाले सहज यात्रा गर्न पाऊन्, यही नै हाम्रो प्रयास हो ।”

गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सडक सरसफाइ तथा मर्मत कार्यले स्थानीयवासीसँगै दसैँ मनाउन गाउँ फर्किने नागरिकलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया