कार्तिक २३, २०८३ आइतबार

भोजपुरको गोगने बन्यो भलिबल प्रतियोगिताको च्याम्पियन, दलगाउँ उपविजेता

खोटाङ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा आयोजित साविक वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको गोगने टिमले जितेको छ। फाइनल प्रतिस्पर्धामा भोजपुरकै दलगाउँ टिमलाई पराजित गर्दै गोगनेले उपाधि आफ्नो पोल्टामा पारेको हो।

नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसर एवं पृथ्वी युवा संगठनको ११औँ स्थापना दिवसको सन्दर्भ पारेर संगठनले गत कार्तिक १६ गतेदेखि प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा विभिन्न स्थानका २५ टिमले सहभागिता जनाएका थिए।

प्रतियोगितामा प्रथम भएको भोजपुर गोगने टिमले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उपविजेता भोजपुर दलगाउँ टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

सेमिफाइनलमा पुगेका साकेला गाउँपालिका–४ मात्तिम र साकेला–३ बोपुङका टिमले प्रति टिम नगद दश हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा २५ टिमको सहभागिता रहनुले स्थानीय तथा अन्तरजिल्लास्तरमा भलिबल खेलप्रतिको आकर्षण र लोकप्रियता बढ्दै गएको संकेत गरेको आयोजकको भनाइ छ।

पृथ्वी युवा संगठनका अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार प्रतियोगिता शनिबार साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समापन समारोहमा गाउँपालिका अध्यक्ष राईले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले खेलकुदलाई केवल मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा मात्र नभई युवाको क्षमता विकास, सामाजिक एकता र स्वस्थ समाज निर्माणको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो।

“खेल जित्नु मात्रै ठूलो कुरा होइन, खेल्ने संस्कारको विकास गर्नु अझ महत्वपूर्ण कुरा हो। खेलले मानिसलाई अनुशासित बनाउँछ, हारलाई स्वीकार गर्न र जितलाई विनम्रता पूर्वक ग्रहण गर्न सिकाउँछ। मैदानमा सिकेको अनुशासन र सहकार्यले जीवनका हरेक क्षेत्रमा सफलता हासिल गर्न प्रेरित गर्छ,” अध्यक्ष राईले भन्नुभयो । उहाँले युवाहरूलाई समाज परिवर्तनको संवाहकका रूपमा व्याख्या गर्दै उनीहरूको ऊर्जा र क्षमतालाई सकारात्मक तथा सिर्जनात्मक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिन्भयो।

अध्यक्ष राईले खेलकुद क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्रै सम्भव नहुने भन्दै स्थानीय संघसंस्था, युवा क्लब, खेलाडी, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।“गाउँको विकास सडक, भवन र पूर्वाधारले मात्रै मापन हुँदैन। यहाँका युवाको क्षमता, नागरिकको सक्रियता, सामाजिक एकता र सिर्जनात्मक गतिविधिले पनि समृद्धिको पहिचान दिन्छ। एउटा खेल मैदानमा युवाहरू एकत्रित हुनु, आपसी सद्भावका साथ प्रतिस्पर्धा गर्नु र समाजलाई जोड्नु आफैँमा महत्वपूर्ण उपलब्धि हो,” अध्यक्ष राईले उल्लेख गर्नुभयो।

संस्थाको ११औँ स्थापना दिवस तथा चाडपर्वको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताले खेलकुदसँगै सामाजिक सद्भाव, आपसी भाइचारा र युवा एकताको सन्देश प्रवाह गरेको छ। भोजपुर र खोटाङका विभिन्न स्थानबाट आएका टिमहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र उत्साहपूर्ण बनाएको आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो।

प्रतियोगिताको समापन समारोहमा साकेला गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष जीवन खत्री, वडा नम्बर १ का वडा अध्यक्ष हेमन राई, वडा नम्बर ३ का वडा अध्यक्ष गोविन्द तामाङ, कार्यपालिका सदस्य दिपक सुनार लगायत जनप्रतिनिधि, स्थानीय राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज, खेलप्रेमी नागरिक, शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो भने सम्पूर्ण खेलको निर्णायकको भूमिका जगबहादुर श्रेष्ठ ‘जीवन’ले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया