साकेला/साकेला गाउँपालिकाले चालु आ.व. २०७९/०८० को दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता शिविर मार्फत वितरण गरेको छ ।
वैङ्किङ प्रणाली मार्फत वितरण गरिएको सामाजिक सुरक्षा भत्ता ४८१ जनाले ५५ लाख २९ हजार ५ सय रुपैंया बुझेका छन् । गाउँपालिकाले वर्षको ३ पटक शिविर मार्फत प्रत्येक वडा र टोलहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
शारीरिक रुपमा अशक्त भई बैंक सम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीको सहजताका लागि साकेला गाउँपालिका र नेपाल एसबिआई बैंकबीच भएको सम्झौता अनुसार वडा वडामा शिविर सञ्चालन गरेर रकम वितरण गर्ने गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले बताउनुभयो ।
हामी जनताको सेवक हौं, अझ जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तहरुको सहजताको लागि निरन्तर विविध कार्य गर्दै आएका छौं, -गाउँपालिका प्रमुख अध्यक्ष रवि प्रकाश राईले भन्नुभयो –त्यस्त लाभग्राहीहरुको सेवाका लागि कुनै कसर बाँकी राखिने छैन । आवश्यकता अनुसार कतिपय अशक्त अवस्थाका लाभग्राहीहरुको घर-घरै बैंकका प्रतिनिधि तथा आफ्ना कर्मचारीहरु पुगेर सेवा प्रवाह गरिरहेको प्रमुख राईको भनाई छ ।
साकेलामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर २०७९ माघ ३ गतेदेखि वडा नं. ३ को खिदिमाबाट सुरु गरिएको थियो । उक्त दिन ७६ जना लाभग्राहीको लागि ७ लाख ५ सय रुपैंया सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । माघ ४ गते वडा नं. ४ को मात्तिम वडा कार्यालयमा ६१ जना लाभग्राहीहरुको लागि रु. ६ लाख ५४ हजार रुपैंया वितरण गरिएको थियो भने माघ ५ गते वडा नं. ५ को मात्तिमबिर्ता वडा कार्यालयबाट ९६ जना लाभग्राहीहरुको लागि रु. १० लाख ९४ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
त्यस्तै, माघ ६ गते वडा नं. २ को रतन्छामा १०९ जना लाभग्राहीहरुको लागि रु. १२ लाख ५९ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता रकम बाँडिएको थियो । त्यस्तै माघ ९ गते वडा नं. १ को बाँझेच्यानडाँडा वडा कार्यालयबाट ७७ जना लाभग्राहीहरुको लागि ८ लाख ७१ हजार र सोही वडाको चण्डेश्वरी आधारभूत विद्यालयमा माघ १० गते सञ्चालन गरिएको शिविरमा ७१ जना लाभग्राहीहरुको लागि ७ लाख ५१ हजार रुपैंया भत्ता बाँडिएको नेपाल एसबिआई बैंक साकेला शाखाका प्रबन्धक असिम इङ्नाम लिम्वुले जानकारी दिनुभयो ।
शिविरस्थलमा उपस्थित हुन नसक्ने लाभग्राहीहरुको लागि भने नजिकै रहेको नेपाल एसबिआई बैंकबाटै भत्ता झिक्न सकिने व्यवस्था मिलाईएको छ । उनिहरुले देशभरीको कुनै पनि शाखाबाट आफुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता रकम बुझ्न सक्नेछन् ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता सहज रुपमा प्राप्त हुनेभएपछि लाभग्राहीहरु खुसी छन् । बैंक सम्म घण्टौं लगाएर धाएर लाईन बस्नुपर्ने बाध्यता हटेको छ भने गाउँमै सेवा लिन पाएपछि हामी जस्ता वृद्ध अवस्थाका नागरिकलाई सहज भएको वडा नं. १ का जेष्ठ नागरिक ललित बहादुर देउजाले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७९/०८० को दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बुझ्ने साकेलाका लाभग्राहीहरुको सङ्ख्या १ हजार ३०३ जना रहेको छ भने उनिहरुको लागि रु. १ करोड ३० लाख २८ हजार ६२६ रुपैंया निकासा भएको थियो । साकेलाले आ.व. २०७७/०७८ को दोश्रो चौमासिकबाट पूर्ण रुपमा बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आईरहेको छ ।
प्रतिक्रिया