कार्तिक १७, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • नागरिकको समस्या समाधान गरेरमात्र आयोजनाको कार्य अघि बढाउनु-अध्यक्ष राई

    साकेला- अरुण तेश्रो ४०० मेगावट जलविद्युत आयोजनाले पारेको समस्याको समाधान गर्नका लागि बसेको वैठक सहमती जुट्न नसकेपछि पुन फागुन दोश्रो हप्ता बस्नेगरी टुङ्गिएको छ । आयोजनाबाट प्रभावित जग्गाधनी, सार्वजनिकस्थल, व्यवसायिक फर्म तथा योजना, विद्यालय, खेल मैदानलाई पारेको समस्या समाधान गर्न मंगलबार साकेला गाउँपालिकाको कार्यालयमा बसेको त्रिपक्षीय वैठकले निष्कर्ष निकाल्न नसकेपछि पुन जिल्ला प्रशासन कार्यालयमा अर्को वैठक बस्नेगरी वैठक टुङ्गिएको हो ।

    वैठकमा अरुण तेश्रो जलविद्युत आयोजनाको तर्फबाट हालसम्म भएका गतिविधिबारे प्रतिवेदन प्रस्तुत भएपश्चात साकेला गाउँपालिकाको तर्फबाट अध्यक्ष रवि प्रकाश राईले गाउँपालिकाको प्रभावित वडाका नागरिकको समस्याबारे आफ्नो धारणा राख्नुभएको थियो ।

    उक्त वैठकमा एक विरुवा मासिँदा वन ऐन अनुसार वन कार्यालयले देखाएको जग्गामा कम्तीमा १० वटा नयाँ विरुवा आयोजनाले रोप्नुपर्ने, आयोजना निर्माणको क्रममा स्थानीय प्राकृतिक र मानवीय श्रोतलाई गुणस्तर कायम गरी प्रयोग गरिने, प्रभावित वडाहरुमा आयोजना सम्बन्धि सीप विकासका तालिमहरु आयोजनाले सञ्चालन गर्ने निर्णय गरिएको छ ।

    त्यस्तै, विद्यालय तथा व्यवसायिक फर्म, तारमुनी पर्ने घर तथा घडेरी, विद्यालय, खेलमैदान, योजना तथा आयोजना, कृषि क्षेत्रहरुको हकमा स्थलगत अध्ययन गरी क्षतिपूर्ती समितिले गरेको निर्णयानुसार क्षतिपूर्ती निर्धारण गरिने निर्णय भएको छ । निर्णय हुन नसकेको विषयमा भने पुन अर्को वैठक बसि निकास दिने सहमती भएको हो ।

    हामी विकासको विरोधी होईनौ, तर नागरिकहरुलाई अन्यायमा पारेर गरिने विकासप्रति हामी सकारात्मक छैनौं –अध्यक्ष राईले भन्नुभयो, न्यायोचित रुपमा सबै समस्या समाधान भएपश्चात आयोजनाको कार्य अगाडी बढाउनु । नागरिकहरुको तर्फबाट अध्यक्ष रवि प्रकाश राईले राख्नुभएको कतिपय समस्या समाधान गर्न आयोजनाको तर्फबाट नसक्ने देखिएपछि सम्पूर्ण समस्याको समाधान गर्नेगरी आगामी वैठकको तय गरिएको अध्यक्ष राईको भनाई छ । अब बस्ने वैठक लगानी वोर्ड, अरुण तेश्रो आयोजना, जिल्ला प्रशासन र साकेला गाउँपालिकाबीच हुने बताईएको छ ।

    उक्त वैठकका लागि एक हप्ताभित्र प्रभावित क्षेत्रका नागरिकबीच छलफलमा बस्ने र छलफलबाट उठेका समस्या समेत सङ्कलन गरि लगिने साथै आयोजनाको तर्फबाट समस्या समाधान गर्ने गरि त्रिपक्षीय सहमती भएको छ । त्रिपक्षीय वैठकमा नेपाल सरकारको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, अरुण तेश्रो आयोजनाको तर्फबाट चिफ इन्जिनियर प्रशान्त शर्मा, डिजिएम आर.सि. सुलेरिया र गाउँपालिकाको तर्फबाट अध्यक्ष रवि प्रकाश राई सहित पाँच वटै वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

    अरुण तेश्रो आयोजनाबाट साकेला गाउँपालिकाको वडा नं. १, २, ४ र ५ वडा प्रभावित हुने भएका छन् । साकेलामा उक्त आयोजनाको ३९ वटा टिएल टावर रहने बताईएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया