साकेला- पछिल्लो समय स्थानीय सरकारले शिक्षा क्षेत्रमा प्रशस्त लगानी गरिरहेको भए पनि शैक्षिक गुणस्तर सुधार नभएको भन्दै साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुलाईशैक्षिक गुणस्तर सुधार्न निर्देशन दिनुभएको छ ।
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा कार्यक्रमको अवसरमा उपस्थित २८ वटा विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक गुणस्तर सुधारका लागि अध्यक्ष राईले गम्भिर हुन निर्देशन दिनुभएको हो । सोही कार्यक्रममा बोल्दै अध्यक्ष राईले साकेलाको सबै वडा र टोलटोलमा एम्बुलेन्स पुग्न सक्ने गरी पुराना बाटोहरुको मर्मत गर्नुका साथै काम ठप्प भएको मध्यपहाडि लोकमार्ग अन्तर्गत सेखुवा-चखेवा सडक खण्ड कालोपत्रेको काम अघि बढेको बताउनुभयो ।
आन्तरिक राजश्व वृद्धि गरी गाउँपालिकालाई अबको पाँच वर्षभित्र स्मार्ट पालिका बनाउने अभियानमा समेत अहिलेको स्थानीय सरकार लागि परेको बताउँदै उहाँले बसाईसराईको न्यूनीकरण, शिक्षा, स्वास्थ्य र सडकमा सुधार ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
सोही कार्यक्रममा साकेला मावि रतन्छाका प्रधानाध्यापक शिवेन्द्रकुमार राईले हरेक सामुदायिक विद्यालयहरुमा महिनाको एक पटक विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, नेपाल सरकारको विद्यालय नर्स कार्यक्रमको अवधारणा अनुसार कम्तिमा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा विद्यालय नर्सको व्यवस्था गर्नुपर्ने र स्थानीय सरकारले विद्यालयको स्वास्थ्यप्रति प्रशस्त लगानी गर्नुपर्ने माग राख्नुभएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त समिक्षा कार्यक्रममा स्वास्थ्य शाखा संयोजक रिता ढकालले विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई नेपाल सरकारको तालिका अनुसार जुकाको औषधि र १० देखि १९ वर्षका किशोरीहरुलाई आईरन चक्की वितरण गरिरहेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिदै लगिने बताउनुभयो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश राई, गाउँपालिका शिक्षा संयोजक कविराज राई, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, पाँचवटै स्वास्थ्य शाखाका प्रमुख प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया