मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • प्रयोग नै नगरी थन्कियो दमकल

    खोटाङ-  ब्याट्रि डाउन भएर स्टार्ट नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । १ नं. प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले वि.सं. २०७७ असोज–२९ गते गाउँपालिकालाई हस्तान्तरण गरेको दमकल ब्याट्री डाउन भएपछि थन्किएर बसेको हो ।

    बिराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डाउन भएको दमकललाई गाउँपालिकाको केन्द्र खोटाङबजारस्थित इलाका प्रहरी कार्यालयमा थन्क्याएर राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा दमकल चलाउनयोग्य सडकसमेत छैन । गाउँपालिकाको केन्द्र खोटाङबजारकै सडक पनि साँघुरो रहेको छ । यही कारण प्रदेश सरकारले निःशुल्क उपलब्ध गराएको दमकल प्रयोगमा ल्याउन असहज भएको गाउँपालिकाले जनाएको छ ।

    जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरु रहेको खोटेहाङ गाउँपालिकामा आगलागीका घटना जिल्लाका अन्य स्थानीय तहभन्दा बढी हुने गरेको छ । आगलागीका घटना नियन्त्रण गर्न प्रदेश सरकारले दुई वर्षअघि दमकल उपलब्ध गराएपनि गाउँपालिकाले उक्त दमकल प्रयोगमा ल्याउन नसकेको हो ।

    यद्यपि, ब्याट्री फेरेर दमकललाई चालु अवस्थामा राख्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभएको छ । सुख्खा तथा खडेरीको मौषम शुरु भएकाले दमकलको ब्याट्री फेरेर चालू अवस्थामा राख्ने र चलाउने अपरेटर राख्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

    प्रदेश सरकारले गाउँपालिकालाई दमकलसहित एउटा प्रहरी पिकअप भ्यानसमेत हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले उपलब्ध गराएको भ्यान भने इलाका प्रहरी कार्यालय खोटाङबजारले प्रयोग गरिरहेको जनाइएको छ ।

    दमकल र प्रहरी भ्यान लिन पूर्व गाउँपालिका प्रमुख प्रदिपकुमार राई, पूर्व उपप्रमुख कविता राई, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्टराई लगायत बिराटनगर पुग्नुभएको थियो । प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि गाउँपालिकाका स्थानीय बासिन्दासमेत हर्षित भएका थिए ।

    यता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकलसमेत प्रभावकारीरुपमा सञ्चालन भएको छैन । सात वर्षअघि खरिद गरिएको नगरपालिकाको दमकल अहिलेसम्म एउटा आगलागीका घटनामा पनि प्रयोग भएको छैन ।

    दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म अन्य स्थानीय तहले भने दमकल खरिद गरेको छैन । पहाडी भूभाग तथा कच्ची सडक रहेको जिल्लामा दमकल भएपनि प्रयोग गर्न असहज हुने देखिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया