साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले साकेलाको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने बताउनुभएको छ । गाउँपालिकाको हरेक क्षेत्रमा कुनै प्रकारको पनि विभेद नरहेको बताउँदै आगामी दिनमा पनि विभेद नहुने र पालिकालाई विभेदकारी ढंगबाट नहेर्न अध्यक्ष राईले आग्रह गर्नुभएको छ ।
गाउँपालिकामा आईतबारबाट सुरु भएको पालिकास्तरीय पाँचौ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष राईले गाउँपालिकाभित्र भईरहेको हरेक विकासको आयोजनालाई समयभित्रै गुणस्तरीय कार्य गर्नका लागि पटक पटक खबरदारी गरिरहेको बताउनुभएको छ ।
७३औं प्रजातन्त्र दिवसको स्वर्णिम अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष राईले तत्कालिन समयमा मूलुकलाई आमूल परिवर्तनका लागि आफ्नो ज्यान दिनुहुने ज्ञातअज्ञात सहिदहरुप्रति सम्मान व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउन गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगायत विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडिलाई विगतमा जस्तो अवसरबाट वञ्चित नगराई जिल्लास्तरमा हुने खेलमा सहभागिताका लागि आफ्नो कार्यकालभरी पठाईने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतियोगितामा विभिन्न छ वटा विद्यामा ५४ पदकका लागि ५ वटा माविका विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यस पटकको रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने जिम्मा सिद्धेश्वरी मावि खिदिमाले पाएको छ ।
साकेला गाउँपालिका–४ स्थित नौलाखर्क खेलमैदानमा आईतबारदेखि शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य राम कुमार राई पासाङले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा भलिवल तर्फ छात्रछात्रा, हाईजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौडको खेल हुने जनाईएको छ ।
प्रतियोगितामा १८ वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने बताईएको छ । प्रतियोगिताका विजेताले मेडल, प्रमाण पत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने बताईएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ । भौगोलिक विकटता तथा महङ्गीका कारण एक लाखले प्रतियोगिता गराउन सम्भव नभएपछि गाउँपालिकाले अपुग रकम उपलब्ध गराएको छ । गाउँपालिकाबाट विनियोजित बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन÷जान तथा अन्य व्यवस्थापन खर्च उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभयो ।
दूरीको आधारमा रु २५ हजारदेखि ३० हजारसम्म प्रति विद्यालयलाई खाजा खर्च बापत रकम उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिता मंगलबार सक्ने लक्ष्य राखिएको आयोजक विद्यालयका प्रअ युवराज कटवालले बताउनुभयो ।
प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभएको छ । जिल्लास्तरीय राष्ट्रपति प्रतियोगिता कहिलेबाट शुरु हुने टुङ्गो लागेको छैन ।
गाउँपालिका प्रमुख राईको अध्यक्षतामा उद्घाटन भएको रनिङ शिल्ड प्रतियोगितामा प्रतिनिधिसभा सदस्य पासाङ, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, उपाध्यक्ष बिर्सिका राई, निवर्तमान गाउँपालिका प्रमुख, उपप्रमुख, सबै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत महेश राई, राजनीतिक दल, शिक्षक तथा प्रतिनिधि, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया