साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले नागरिकको सहजताका लागि स्थानीय सरकार सकारात्मक भएको र जस्तो सुकै समस्यालाई पनि सहज तवरबाट समाधान गर्नेतर्फ संवेदनशिल भएको बताउनुभएको छ । गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको प्रमुख आथित्यता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईको विशेष आथित्यतामा दिक्तेल-रतन्छा बस सञ्चालन गर्ने सन्दर्भमा भएको छलफलको क्रममा यातायात व्यवसायी लगायत सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हामी नागरिकको सहजताको लागि संवेदनशिल छौं, तपाँईहरुले हाम्रो यो कदमलाई साथ दिनुपर्छ –अध्यक्ष राईले भन्नुभयो –सँधैभरी यातायात सञ्चालनको लागि वातावरण तयार गरौं ।
आज बिहीबारबाट दिक्तेलको अल्छेढुङ्गाबाट दोर्पा दुम्ली हुँदै साकेला सम्म बस सञ्चालन सुरु भएको छ । अल्छेढुङ्गाबाट दुम्ली-लामदुवाली हुँदै रतन्छा मानेभञ्ज्याङ खोटाङ यातायात प्रालिको बस सञ्चालन सुरु भएको हो । वैठकले उक्त रुटमा चल्ने बसको भाडादर समेत कायम गरेको छ । कायम गरेको भाडादर अन्तर्गत साकेला गाउँपालिका-२ रतन्छाको सुर्के सिलापादेखी दिक्तेल सम्म रु ५००, नैनेपाटी, स्कुल एरिया, मबु, यातिम्छा चौकदेखि दिक्तेलसम्म ४५० र यातिम्छा चौक, पिनालाखा र साल्मेदेखि दिक्तेलसम्म ४०० रुपैंया भाडादर कायम गरिएको छ ।
त्यस्तै लामदुवाली-दिक्तेल ३७०, चम्पा-दिक्तेल ३५०, चिउरीडाँडा दिक्तेल ३००, दुम्ली-दिक्तेल २६०, रुवाबु-दिक्तेल २४०, च्यानडाँडा-दिक्तेल १८० र मोहोरिया-दिक्तेल १३० रुपैंया भाडादर कायम गरिएको छ । त्यस्तै उक्त रुटमा नियमित रुपमा बस सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भुगोलमा सँधैभरी यातायात सञ्चालन हुनेगरी मर्मत सम्हार र विस्तार गर्ने वैठकमा सम्झौता भएको छ भने दिक्तेलदेखि रतन्छा सम्म समान ढुवानी गर्नका लागि १० केजीसम्म निशुल्क र सो भन्दा माथि ल्याएमा प्रतिकेजी ४ रुपैंया भाडा लाग्ने निर्णय भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो ।
उक्तस्थानसम्म चामल ल्याउनुपर्दा प्रतिबोरा एक सय लिने निर्णय गरिएको उहाँको भनाई छ । गाउँपालिकाको कार्यालयमा भएको वैठकमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, खोटाङ यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष फडिन्द्र कुमा राई, महासचिव रामकुमार हिङ्माङ, कोषाध्यक्ष गोविन्द बहादुर कटवाल लगायत यातायात व्यवसायीहरु, जनप्रतिनिधिहरु तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया