साकेला- अरुण तेश्रो परियोजनाले मुआब्जा वितरण गर्ने क्रममा विभेद गरेको साकेलाका स्थानीयहरुले बताएका छन् । साकेला गाउँपालिकाले अरुण तेश्रो ४०० मेगावट जलविद्युत आयोजनाबाट प्रभावित भएका स्थानीयहरुसँग गरेको छलफलको क्रममा उनिहरुले आफुहरुलाई विभेद गरेको बताएका हुन् ।
साकेला ५ का पूर्व वडाअध्यक्ष वीरबल राईले स्थानीयहरुको चित्त बुझ्ने प्रकारको क्षतिपूर्ती उपलब्ध नगराए आयोजनाको काम गर्न नदिने बताउनुभयो । आयोजनाको ड्याम क्षेत्रमा प्रति रोपनी १२ लाख रुपैंया सम्म मुआब्जा उपलब्ध गराएको उल्लेख गर्दै उहाँले आफ्नो क्षेत्रमा पनि सोही अनुरुप मुआब्जा उपलब्ध गराउनुपर्ने बताउनुभएको हो ।
आयोजनाबाट आफुहरु पीडित भएको स्थानीयको पटक पटक गुनासो आएपछि गाउँपालिकाले प्रभावित वडाहरुमा पुगेर नागरिकहरुसँग छलफल गरेको थियो । नागरिकहरुबाट उठेका समस्यालाई आगामी दिनमा अरुण तेश्रो आयोजना, लगानी वोर्ड, जिल्ला प्रशासन, जिल्ला समन्वय र साकेला गाउँपालिकाबीच हुने वैठकमा राखिने गाउँपालिकाले जनाएको छ ।
साकेला गाउँपालिका-४ निवासी भक्त बहादुर सार्कीको तीन वटा घर सहित १ रोपनी १० आना १ पैसा २ दाम जग्गा उक्त आयोजनामा परेको छ । सो वापत आयोजनाले सार्कीलाई ६ लाख ३३ हजार ५९१ रुपैंया उपलब्ध गराउँदैछ । आयोजनाले उपलब्ध गराएको उक्त रकमले अन्यत्र जग्गा किनेर घर बनाउन नसकिने सार्की परिवारको भनाई छ । गाउँमा एउटै घर निर्माण गर्न अहिलेको समयमा १० लाख बढी लाग्छ, त्यति पैसाले के गर्नु, मेरो त उठीबास नै हुनेभयो- सार्कीको भनाई छ ।
उता वडा नं. ५ निवासी निराकुमारी राईको नाममा रहेको घरजग्गाको कुनै लेखाजोखा छैन । घर माथिबाट हाइटेन्सन लाईन छ, घरसँगै जग्गा समेत तारमुनी परेको राई परिवारको भनाई छ । सोही स्थानका इनद्रबहादुर राईको घर पनि तारमुनी परेको छ । यद्यपी आयोजनाले तारमुनी पर्ने संरचनाहरुको क्षतिपूर्ती हालसम्म निर्धारण गरेको छैन ।
गाउँपालिकाले भने तारमुनी पर्ने जग्गा, भौतिक संरचना, घर, व्यवसायिक फर्म लगायत ऐतिहाँसिक र महत्वपूर्ण स्थानहरुको क्षतिपूर्ती निर्धारण गरेर मात्र आयोजनाको कार्य अगाडि बढाउन निर्देशन दिंदै आएको छ ।
गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई स्वयम आयोजना प्रभावित नागरिकहरुसँगको छलफलमा उपस्थित भएर नागरिकको समस्यालाई समाधान गर्न आफु संवेदनशिल भएको आश्वसन दिदै आउनुभएको छ । नागरिकलाई दुख दिएर गरिएको विकासले सार्थकता नपाउने बताउँदै उहाँले आफ्नो अडान नागरिकहरुको लागि भएको बताउनुभयो ।
आयोजना प्रति नागरिकको गुनासो गाउँपालिकामा आएपछि अध्यक्ष राईले तत्कालका लागि आयोजनाको कार्य स्थगित गर्न आदेश दिनुभएको थियो । साकेला १ को सेखुवामा काम थालेको आयोजनाको काम अहिले बन्द छ ।
प्रतिक्रिया