साकेला- साकेला गाउँपालिकालाई आगामी पाँच वर्षभित्र डिजिटल गाउँपालिका बनाउनका लागि आवधिक योजना सम्बन्धि कार्यशाला गोष्ठी सुरु भएको छ । गाउँपालिकाको सभाहलमा मंगलबारबाट सुरु भएको तेश्रो चरणको आवधिक योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सुरु गरिएको हो ।
साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा सुरु भएको प्रथम चरणको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, ३ नम्बर वडाअध्यक्ष गोविन्द तामाङ, कार्यपालिका सदस्य सर्मिला कट्टेलले आवधिक योजनाले पुर्याउने योगदानको बारेमा आफ्नो धारणा राख्नुभयो ।
दोश्रो चरण अन्तर्गत प्राविधिक सहयोग गर्ने सिएसडिएसका अध्यक्ष प्रकाश राईले हालसम्म वडागत छलफलबाट प्राप्त भएका प्रगति र प्राप्त सुझाव सल्लाहहरु प्रस्तुत गर्नुभयो । त्यस्तै विषयविज्ञहरुले आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन, संस्थागत विकासका प्राविधिक विषयवस्तुहरुमा सहजीकरण गर्नुभएको थियो ।
विभिन्न राजनैतिक दल, वुद्धिजीवि, जनप्रतिनिधी, शिक्षक, कर्मचारी सम्मिलित गोष्ठी बिहीबार सम्म सञ्चालन हुने गाउँपालिकाका सामाजिक विकास अधिकृत दुर्ग बहादुर राईले जानकारी दिनुभयो ।
यसअघि पहिलो चरणमा सरोकारवालाहरुसँग गाउँपालिकामा अन्तरक्रिया गर्नुका साथै दोश्रो चरणमा प्रत्येक वडाहरुमा समेत आवधिक योजना निर्माण सम्बन्धि सरोकारवाला व्यक्तिहरुसँग छलफल सम्पन्न भईसकेको छ ।
गाउँपालिकालाई आगामी पाँच वर्षभित्र समृद्ध र दिगो विकासमैत्री बनाउने उदेश्यका साथ गाउँपालिकाले पहिलो आवधिक (पञ्चवर्षीय) योजना बनाउन लागेको हो । त्यसका लागि चालु आ.व. २०७९/०८० को बजेट नीति तथा कार्यक्रमबाट गाउँपालिकाले बजेट समेत विनियोजन गरेको थियो ।
विगत र वर्तमानबाट लिएका ज्ञानबाट भविष्यप्रति संवेदनशिल बनेर गाउँपालिकालाई समृद्ध बनाउन आवधिक योजना अघि सारिएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । साकेला गाउँपालिकालाई कस्तो बनाउने भनेर समयमै लागिएन भने गाउँपालिका धेरै पछाडी पर्ने उहाँको भनाई छ ।
विकसित देशहरुले समयलाई महत्व दिएर सयौं वर्षपछिको भविष्य कोर्छन्, हामीले पनि समयलाई अहिलेनै चिन्न सक्यौं भने गाउँपालिका विकसित हुन धेरै समय नलाग्ने अध्यक्ष राईको भनाई छ ।
सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट स्टडिज प्रालि (सिएसडिएस)को प्राविधिक सहयोगमा निर्माण हुन लागेको आवधिक योजनाले आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपद्, संस्थागत विकास तथा सुशासन लगायतको क्षेत्रमा गरिने विकासको आधार तय गर्नेछ ।
पालिकाको आवधिक योजना निर्माणका लागि गत फागुन ३ गते आयोजना गरिएको पहिलो चरणको छलफलबाट विभिन्न संयन्त्रहरु निर्माण गरिएको थियो । जस अन्तर्गत आर्थिक विकास समिति संयोजकमा १ नं. वडा अध्यक्ष हेमन राई, सामाजिक विकास समितिको संयोजकमा ३ नं. वडाका वडाअध्यक्ष गोविन्द तामाङ, पूर्वाधार विकास समितिमा २ नं. वडाका वडाअध्यक्ष जितेन्द्र कुमार राई, वातावरण तथा विपद व्यवस्थापन समितिमा ४ नं. वडाका वडाध्यक्ष अर्जुन कुमार कटवाल र संस्थागत विकास तथा सुशासन समितिमा ५ नं. वडाका वडाअध्यक्ष जीवन खत्री रहनुभएको छ ।
यसरी निर्माण गरिएको संयन्त्रको सदस्यहरुमा कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विषयविज्ञ नागरिक तथा विषयगत शाखाका कर्मचारीहरुलाई समेत समेटिएको छ । त्यस्तै गाउँपालिका अध्यक्ष संयोजक, उपाध्यक्ष सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेगरी आवधिक योजना निर्माण निर्देशक समिति समेत निर्माण गरिएको छ भने साकेलामा जन्मिएर देश तथा विदेशस्थित विभिन्न तह र तप्कामा पुग्नुभएका सांसद, कर्मचारी, राजनीतिज्ञ, व्यवसायीहरु सल्लाहकार समितिमा रहनु भएको छ ।
प्रतिक्रिया