साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले वित्तिय सेवा प्रदान गरी सुविधा दिने वहानामा जनताको खुसी नखोस्न लद्युवित्त संस्थालाई निर्देशन दिनुभएको छ । शुक्रबार साकेला गाउँपालिकामा महुली लद्युवित्त वित्तिय संस्थाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धि कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै राष्ट्र बैंकले बनाएको नीति विपरित कुनै कार्य गरेको थाहा पाए गाउँपालिका अघि सरेर त्यस्ता लद्युवित्तलाई तह लगाउने चेतावनी दिनुभएको हो ।
उहाँले भन्नुभयो- गाउँघरमा सोझा साझा जनता हुन्छन्, ऋण प्रवाह गर्दा ऋणीले व्यहोर्नुपर्ने सेवा शुल्क, सदस्यता शुल्क लगायतबारे कुरा बुझाउने गर्नु, जुन शीर्षकमा लगानी गर्ने हो त्यसको रेखदेख र अनुगमन गर्ने जिम्मा लगानीकर्ताको हो । सोही कार्यक्रममा उहाँले लद्युवित्तबाट आफूहरुलाई कुनै समस्या भएको भए जुनसुकै बेला पनि साकेला गाउँपालिका समक्ष समस्या राख्न सदस्यहरुलाई आग्रह गर्नुभयो ।
२०६६ सालमा दिक्तेलमा शाखा कार्यालय स्थापना गरेको उक्त संस्थाले दिक्तेल, दिप्रुङ चुईचुम्मा र साकेलामा १५७ वटा समूह मार्फत १९८७ जना महिला सदस्य बनाएको छ । महिलाहरुको आयआर्जन र उत्पादनको लागि भनेर ८ करोड लगानी गरेको र ३ करोड ६६ लाख सदस्य बचत रहेको सो कार्यक्रममा जानकारी गराईएको थियो ।
प्रतिक्रिया