कार्तिक १९, २०८२ बुधबार

अरुण तेश्रो आयोजनाले साकेलाको मास्टर प्लानलाई असर गर्यो- अध्यक्ष राई

साकेला- अरुण तेश्रो ४०० केभी प्रशारण लाईनले पारेको समस्याको समाधान गर्न बसेको छलफल तथा अन्तरक्रिया कार्यक्रमले विभिन्न वुँदाहरुमा सहमती गरेको छ । जिल्ला समन्वय समितिको हलमा आईतबार साँझ सम्म साकेला गाउँपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, लगानी वोर्ड, विद्युत विकास वोर्ड, उर्जा मन्त्रालय र अरुण तेश्रो आयोजनाका प्रमुख व्यक्तित्वहरुबीच बसेको वैठकले विभिन्न वुँदाहरुमा सहमती गरेको हो ।

अरुण तेश्रो आयोजना निर्माण गर्ने क्रममा साकेला गाउँपालिकाका नागरिकहरुलाई अत्यन्तै विभेदको दृष्टिले हेरिएको, अन्यत्रभन्दा कम मुआब्जा वितरण गरिएको, महत्वपूर्ण घर तथा घडेरीहरुको मूल्याङ्कन नगरेको, तारमुनी पर्ने जग्गाहरुको मूल्याङ्कन अत्यन्तै कम हुने कारण सयौं परिवार विस्थापित हुनुपर्ने अवस्था आएको लगायतका विषयहरु नागरिकस्तरबाट गाउँपालिकामा पटक पटक उजुरी तथा गुनासा आएपछि गाउँपालिकाले निर्माणाधिन अरुण तेश्रोको सम्पूर्ण कार्य स्थगित गराएपछि सो को निकास गर्न वैठकको आयोजना गरिएको थियो ।

छलफलपछि प्रशारण लाईन सम्बन्धि स्थिगत निर्माणकार्य सुचारु गर्न गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने सहमती भएको छ । छलफल तथा अन्तर्क्रिया कार्यक्रमका सभापति तथा गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले अरुण तेश्रो आयोजना निर्माण हुँदै गर्दा साकेलाको महत्वपूर्ण र किम्ती जग्गाहरु सकिने अवस्था आएको बताउनुभयो ।

हाईटेन्सन लाईनले मात्र गाउँपालिकाको १३ सय रोपनी जग्गा ओगटेपछि गाउँपालिकाले देखेको सपना पुरा कसरी गर्नु- उहाँ भन्नुहुन्छ यस आयोजनाले हाम्रो मास्टर प्लानलाईनै असर गरेको छ । हामी ५० वर्ष पछि साकेलालाई कस्तो बनाउने भनेर अहिलेदेखिनै लागिरहेका छौं, साकेलाको भूगोल सानो छ, गाउँमा विकास हुँदै जाँदा विकास गर्ने ठाउँ खै, तसर्थ नागरिकहरुको खुशी नखोस्नु उचित मूल्याङ्कनका साथ क्षतिपूर्ती उपलब्ध गराउनु –उहाँको तर्क छ ।

जिल्ला समन्वय समितिका संयोजक तथा प्रमुख अतिथिको रुपमा उपस्थित सन बहादुर राईले यस आयोजनाले गाउँपालिकाले देखेको सपनालाई असर गरेको बताउँदै मुआब्जा निर्धारण गर्दा न्याय संगत नगरेको बताउनुभयो । यो न्याय संगत देखिएन, समाधानको बाटोतर्फ लाग्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।

सहमति भएका अन्यवुँदाहरुमा आयोजनाले साकेला गाउँपालिकाभित्र पर्ने हालसम्म तयार पारेको मुआब्जा र क्षतिपूर्ती सम्बन्धि विवरणहरु गाउँपालिकालाई यथाशिघ्र उपलब्ध गराउने, उक्त गाउँपालिकाभित्र पर्ने तारमुनीको जग्गाको क्षतिपूर्ती निर्धारण यथाशिघ्र सुरु गर्ने, सामुदायिक विकास कार्यक्रम अन्तर्गत अरुण तेश्रो ४०० केभी प्रशारण लाईनको स्वीकृत आईई अनुसार कार्यविधि निर्माणमा लगानी वोर्डको कार्यालयले आवश्यक सहजीकरण गर्ने लगायत रहेका छन् ।

साकेला गाउँपालिका अध्यक्ष राईले साकेलाबासीको मात्र नभई अरुण तेश्रो आयोजनाबाट पीडित भएका ७ वटै जिल्ला र २२ वटा स्थानीय तहका नागरिकको हितको लागि अडान लिएको बताउनुभयो । नागरिकको समस्यालाई संवेदनशिलताका साथ हेर्न सम्बन्धित निकायलाई आग्रह गर्दै उहाँले केन्दीय सरकारले पनि नीति बनाएर नागरिकलाई सम्बोधन गर्नेतर्फ लाग्नुको विकल्प नभएको बताउनुभयो ।

कूल १९७७.८०८ करोड लागतमा बन्दै गरेको उक्त आयोजना संखुवासभाको दिदिङबाट सुरु भई भारतको वथनाह सम्म २१७ कि.मि. लम्वाई रहेको छ । खोटाङमा मात्र आयोजनाको ८० वटा टिएल टावर रहने छ भने साकेला गाउँपालिकामा ३९ वटा टावर रहने आयोजनाले जनाएको छ ।

अन्तर्क्रिया तथा छलफल कार्यक्रममा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई, जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाँई, लगानी वोर्डका सहसचिव अमृत लम्साल, सिडिई सागरराज गौतम, उर्जा तथा जलश्रोत इन्जिनियर भरत लामिछाने, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर प्रविण खपाङ्गि, अरुण तेश्रो आयोजनाको तर्फबाट डिजिएम आरसि सुलेरिया लगायत विभिन्न निकायका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया