मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा

    साकेला- साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । १५ महिनादेखि ५९ महिना मुनीका सबै बालबालिकाले पूर्ण खोप लगाएको र ० देखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चत पालिका घोषणा गरिएको हो ।

    बिहीबार साकेला गाउँपालिका-२, रतन्छामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिग्देल लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा अन्य उपस्थित नागरिकहरुले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेपछि औपचारिक रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको हो ।

    साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले पालिकालाई समृद्धिको गन्तव्यतर्फ लैजान पूर्ण खोप अभियान महत्वपूर्ण सूचक भएको बताउनुभयो । जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा पहिला साकेलालाई पूर्णखोप सुनिश्चिता र दिगोपना घोषणा गर्न सफल भएकोमा अत्यन्तै खुसी भएको बताउँदै अध्यक्ष राईले नागरिकको स्वास्थ्यप्रति संवेदनशिल भएर निरन्तर सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

    साकेलाले सजाएको सपनालाई साकार पार्न विभिन्न क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले साकेला सरकारको विवेकी आँखाले नदेखेका कुराहरुलाई सचेत नागरिकहरुले पालिकालाई सुझाव दिन समेत आग्रह गर्नु भयो । हामी निरन्तर नागरिकको पक्षमा काम गरिरहेका छौं, काम गर्दा गर्दै कतिपय अवस्थामा कमी कमजोरी हुनसक्छ, कमी कमजोरीलाई सुधार्न सरकारको वुद्धि र विवेकले नभ्याए तपाँई सचेत नागरिकले खबरदारी गर्नुपर्छ अध्यक्ष राईले भन्नुभयो- अनि मात्र साकेलालाई समृद्धिको गन्तव्यमा पुर्याउन सकिन्छ ।

    कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका संयोजक सन बहादुर राईले साकेला गाउँपालिका पूर्ण खोपलाई दिगो रुपमा अगाडी बढाउने कार्यका लागि प्रथम भएकोमा बधाई ज्ञापन गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्य प्रसाद सिग्देलले पालिकाको पाँच वटै वडाका सम्पूर्ण बालबालिकाहरुलाई सरकारले तोकेको मापदण्ड बमोजिमको सम्पूर्ण खोप लगाएपछि साकेलालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएको बताउनुभयो ।

    कार्यक्रममा वडा अध्यक्षहरु हेमन राई, जितेन्द्र कुमार राई, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाई, नेपाली काँग्रेसका पार्टी प्रतिनिधि सिजन राई, जसपाका युवराज राई, आधारभूत अस्पतालका डाक्टर किसन घिमिरे, साकेला माविका प्रअ शिवेन्द्र कुमार राई लगायतले साकेला गाउँपालिका पूर्ण खोप सुनिश्चित भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया