कार्तिक १७, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • प्रदेश सांसद पिके राई विरुद्ध जिल्लासभा स्थलमै प्रदर्शन

    खोटाङ- खोटाङमा प्रदेश सांसद पाँचकर्ण राई पिके विरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधार चार युवा पक्राउ परेका छन् । कोशी प्रदेश नामाकरणको पक्षामा मतदान गरेको भन्दै सांसद राई विरुद्ध शनिबार प्रदर्शनमा उत्रिएका किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, सह-कोषाध्यक्ष डार्बिन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पूर्व उपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् ।

    जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला सभा सञ्चालन भईरहेकै बेला किरात राई यायोक्खाका अध्यक्ष किरातले कार्यक्रम सञ्चालक सँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी गर्दै कालो झण्डा देखाईएको थियो । बिरोधमा उत्रिएका समूहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । परैबाट छर्किएको कालो पदार्थको केही छिटा प्रदेश सांसद राई, पूर्व सांसद कुल प्रसाद फुयाल र बबि चाम्लिङको शरीरमा लागेको थियो । जिल्लासभामा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बोले लगत्तै आन्दोलनकारीले आफ्नो धारणा राख्न फोरम मागेका थिए ।

    यायोक्खाका अध्यक्ष किरात बाहेक अन्य तीन जनालाई भने हतकडी हालेर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आह्वान गरिएको तर त्यस विपरित गरिएकाले विरोध गरिएको अध्यक्ष किरातले बताए । बिरोधमा उत्रिएका समूहले प्रदेश सांसद भूपेन्द्र राई विरुद्ध पनि नाराबाजी गरेका थिए ।

    कार्यक्रममा प्रतिनिधि सभा सांसद रामकुमार राई प्रमुख अतिथि थिए । सम्भावित दुर्घटनालाई ध्यान दिएर प्रशासनले जिल्ला सभा आसपासमा प्रहरी परिचालन गरेको थियो । यायोक्खाले गत चैत्र २० गते प्रेस विज्ञप्ती मार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रुपमा नल्याउन आग्रह गरेको थियो । किरात प्रदेश नामाकरण नगरिएको भन्दै किरात राई यायोक्खा, जनता समाजवादी, जनजाती महासंघ लगायतका पहिचान पक्षधर पार्टी तथा संगठनले विरोधको कार्यक्रम गर्दै आएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया