चैत्र ६, २०८१ बुधबार
  • ताजा अपडेट
  • English
  • स्थानीय तहलाई हिजोको गाविसको नजरले नहेर्न केन्द्र सरकारलाई अध्यक्ष राईको सुझाव

    खोटाङ- संघीय सरकार र प्रदेश सरकारले बनाउने वार्षिक बजेट तल्लो तहका नागरिकको जीवनस्तर उकास्ने प्रकारको नभएको र बजेट बनाउँदा काठमाडौंलाई हेरेर बनाउने गरिएको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । ”विचार सहितको विकास, समृद्ध खोटाङ हाम्रो निकाश” भन्ने मूल नाराका साथ शनिबार जिल्ला समन्वय समितिको हलमा आयोजित सातौं जिल्ला सभालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष राईले बजेट बनाउँदा गाउँगाउँका नागरिकहरुको समस्या, उनिहरुको अपरिहार्यतालाई हेरेर बास्तविक र गहिराईमा पुगेर बजेट बनाउन केन्द्र सरकारलाई सुझाव दिनुभयो ।

    देशको अर्थतन्त्र धराशायी बन्दै गइरहेको परिप्रेक्षमा नागरिकको जीवनस्तर माथि उठाउने प्रकारको कार्यक्रम ल्याउन र नागरिकको समस्याप्रति संवेदनशिल बन्न केन्द्र सरकारलाई अध्यक्ष राईको सुझाव थियो । उहाँले भन्नुभयो- ”संघीय सरकारले स्थानीय तहहरुलाई अझै पनि हिजोको गाविसको रुपमा हेर्ने गरेको छ, केन्द्र सरकारले त्यो नजरलाई परिवर्तन गर्नुपर्छ ।”

    हाम्रो देश कस्तो बनाउने भनेर आजैदेखि सपना देखिएन भने समृद्ध नेपालको परिकल्पनाले सार्थकता नपाउने बताउँदै उहाँले यसको सुरुवात साकेला गाउँपालिकाबाट भएको बताउँनुभयो । हामीले ५० वर्षपछिको भविष्य देखेर आवधिक विकास योजनाको खाका अघि सारेका छौं, आवधिक योजनाको माध्यमद्धारा समृद्ध साकेला निर्माणका लागि हाम्रो कार्य अघि बढिरहेको छ, केन्द्र सरकारले पनि आफ्नो देश कस्तो बनाउने भनेर योजना बनाउनु पर्छ ।

    त्यस्तै अध्यक्ष राईले –निर्माणाधिन अरुण तेश्रो आयोजनाले साकेलाबासी नागरिकहरुलाई पारेको समस्याबारे संवेदनशिल भएर लाग्न केन्द्र सरकारलाई सुझाव दिनुभएको छ । आयोजनाका कारण सयौं परिवार विस्थापित बन्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै तारमुनीका पीडित नागरिकहरुलाई टिएल टावर सरहको क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने र त्यसका लागि विद्युत नीति परिवर्तन गर्न केन्द्र सरकारलाई अध्यक्ष राईको सुझाव थियो । अर्को एक प्रसंगमा अध्यक्ष राईले कोशी प्रदेश नामाकरणको विषयमा स्थानीय तहहरुसँग कुनै प्रकारको साझेदारी नभएको र सुझाव समेत नमागिएको बताउँदै यसको जिम्मा प्रदेश सांसदहरुले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    जन्तेढुङ्गा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राईले नागरिकहरुले सोचेजस्तो विकास, जनताको माग, आवश्यकतालाई पुरा गर्न नसकिएको बताउनुभयो । खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राईले कृषि लक्षित कार्यक्रमहरु प्रभावकारी नभएको बताउँदै किसानको जीवन निर्वाह हुने खेति प्रणाली अपनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

    रावावेशी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले ठूला ठूला योजनालाई प्राथमिकता दिएर रोजगारमूलक र आयमूलक कार्यमा लागेमात्र गाउँको विकास गर्न सकिने बताउनुभयो । केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले भौतिक विकास मात्र नभई आर्थिक र सामाजिक विकासमा जोड दिँदै अन्तरपालिका जोड्ने सडकमा लगानी गर्न सके स्थानीय तहको विकासको गतिविधि बढ्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, प्रदेश सभा सदस्य पाँचकर्ण राई पिके, पूर्व सांसद कूल प्रसाद फुयाल, निवर्तमान जिसस प्रमुख बबि चाम्लिङ, हलेसी तुवाचुङ नागरपालिकाका उपमेयर रमेश राउत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाँई, नेपाली काँग्रेसका टंकप्रसाद आचार्य, नेकपा एमालेका सचिव कुमार प्रसाद आचार्य, माओवादी केन्द्रका जीवन राई लगायतले जिल्लासभाको सफलताको शुभकामना प्रदान गर्नुभएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया