बिराटनगर- सामाजिक सुरक्षा भत्ता वितरण कार्य अझै पनि वस्तुनिष्ठ र पारदर्शिता नभएको निष्कर्ष निकाल्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भत्ता वितरणलाई प्रभावकारी बनाउन निकट भविष्यमा लाभग्राहीको बायोमेट्रिक विवरण सिष्टममा प्रविष्ट गर्ने तयारी गरेको छ ।
विभागका निर्देशक नवराज जैसीले बिराटनगरमा आयोजित दुई दिने व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी तालिम समापन कार्यक्रमको अवसरमा बोल्नुहुँदै सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुन नदिन लाभग्राहीको थप विवरण सहित औंलाको छाप सिष्टममा प्रविष्ट गराउने तयारी गरिएको बताउनुभएको हो ।
लाभग्राही स्वयम् उपस्थित भएर सिष्टममा आफ्नो विवरण प्रविष्ट गराएपछि मात्र नवीकरण हुने व्यवस्था विभागले गर्ने तयारी गरेको छ । कोशी प्रदेशका ८६ वटै गाउँपालिकाका एमआईएस अपरेटर, फिल्ड सहायक, वडा सचिवहरु सहभागि भएको तालिम समापनमा बोल्दै निर्देशक जैसीले नागरिकले प्राप्त गर्ने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन समेत निर्देशन दिनुभयो ।
त्यस्तै, विभागले अझै पनि कतिपय जिल्लाहरुमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य गरिरहेको र निकट भविष्मै व्यक्तिको जैविक र बायोमेट्रिक प्रणाली सहितको राष्ट्रिय परिचयपत्र वितरण गरिने उहाँको भनाई छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाको आयोजनामा दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा विभागको तर्फबाट निर्मल शर्मा, उज्वल मिश्र, समिर भण्डारी लगायतले व्यक्तिगत घटना दर्ता गर्दा आई पर्ने समस्या, सो को समाधान, विद्यमान कानूनी आधारहरु तथा सामाजिक सुरक्षा सम्बन्धी कानूनी र नीतिगत व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया