साकेला- साकेला गाउँपालिकाले आईतबारदेखि शिविर कार्यक्रमको आयोजना गरि सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न सुरु गरेको छ । चालु आ.व. २०७९/०८० को तेश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता गाउँपालिकाको वडा नम्बर १ स्थित बाँझेच्यानडाँडाबाट वितरण सुरु गरिएको हो ।
शिविरको पहिलो दिन उक्त स्थानका ७६ जना लाभग्राहीहरुको लागि ९ लाख ६२ हजार रुपैंया भत्ता वितरण गरिएको छ । सबै प्रकारको सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणाली मार्फत वितरण गर्दै आएको गाउँपालिकाले नेपाल एसबिआई बैंकको टोलीलाई शिविरस्थलमा पुर्याई भत्ता वितरण गरिरहेको हो ।
शारीरिक अशक्तताका कारण बैंकको कार्यालयमा आएर भत्ता बुझ्न नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिकहरुको सहजताका लागि प्रत्येक वडा कार्यालय र आवश्यकता अनुसारका स्थानहरुबाट भत्ता वितरणको व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । हामी नागरिकप्रति संवेदनशिल छौं, भौगोलिक विकटताका कारण बैंकको सेवाबाट वञ्चित लाभग्राहीको समस्यालाई मध्यनजर गरेर शिविर मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन पालिका सरकार लागि रहेको छ उहाँले भन्नुभयो- सेवा प्रवाहलाई टोलस्तरमा समेत लैजाने प्रयत्न पालिकाको छ ।
बाँझेच्यानडाँडाबाट वितरण सुरु गरिएको शिविर सोमबार वडा नम्बर १ कै डाँडागाउँ, मंगलबार २ नम्बर वडा कार्यालय रतन्छा, बुधबार ३ नम्बर वडा कार्यालय खिदिमा, बिहीबार ५ नम्बर वडा कार्यालय मात्तिमबिर्ता र शुक्रबार ४ नम्बर वडा कार्यालय मात्तिममा सञ्चालन गरिने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङ राईले बताउनुभयो । गाउँपालिकाले यसअघि पनि शिविर मार्फत भत्ता वितरण गर्दै आएको छ ।
शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीहरुको लागि नेपाल एसबिआई बैंकको देशभरी रहेका शाखाहरुबाट भत्ता रकम बुझ्ने व्यवस्था मिलाईएको बैंकका शाखा प्रबन्धक मेदानी प्रसाद रिजालले बताउनुभयो ।
प्रतिक्रिया