जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • नयाँ शैक्षिक सत्र सुरु, आएन पाठ्यपुस्तक

    खोटाङ- दश स्थानीय तह रहेको खोटाङमा ४९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९० वटा माध्यमिक, ६६ वटा कक्षा–१ देखि कक्षा–८ सम्म पढाइ हुने र ३३७ वटा कक्षा–१ देखि कक्षा–५ सम्म पढाइ हुने आधारभूत विद्यालय सञ्चालनमा छन् ।

    शैक्षिक क्षेत्रको सुधार गर्न नेपाल सरकारले देशभरका सबै कक्षा–१२ सम्म सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ । तर, नयाँ शैक्षिकसत्र शुरु भएको पाँच दिन बितिसक्दा पनि जिल्लाका एउटा विद्यालय बाहेक कुनै पनि स्थानीय तहमा सञ्चालित विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइपुगेका छैनन् ।

    जिल्लाका अधिकांश स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयले दिक्तेल बजारमा सञ्चालित स्टेशनरीसँग नयाँ शैक्षिकसत्रका लागि आवश्यक पाठ्यपुस्तक ढुवानीका लागि सम्झौता गरेका छन् । दिक्तेल बजारस्थित अम्बागाछीमा सञ्चालित न्यू शाक्य पुस्तक सेन्टरले जिल्ला विभिन्न ४५ वटा सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएको छ ।

    न्यू शाक्य पुस्तक सेन्टरमा कक्षा–६ देखि माथिका कक्षाको मात्र पाठ्यपुस्तक आएको पाइएको छ । कक्षा–१ देखि कक्षा–५ सम्मका पाठ्यपुस्तकसमेत ढुवानीको प्रक्रियामा रहेको पुस्तक सेन्टरका सञ्चालक रमा शाक्यले जानकारी दिनुभएको छ । “बिगत वर्षहरुमा भनेको समयमा आवश्यक पाठ्यपुस्तक नै पाइदैनथ्यो ! यस वर्ष सबै विषयको पाठ्यपुस्तक चाहेजति पाइएको छ”, उहाँले भन्नुभयो, “कक्षा–१ देखि कक्षा–५ सम्मको पाठ्यपुस्तक आइपुग्नासाथ सबै विद्यालयलाई वितरण गर्छौँ । सम्भवत ः वैशाख–१५ गतेभन्दा अगाडि नै सबै विद्यालयले आवश्यक पाठ्यपुस्तक लगिसक्छ ।”

    जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । पन्ध्रवटा वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कक्षा–१ देखि कक्षा–१० सम्म दश हजार ३३६ जना विद्यार्थी अध्ययनरत रहेको नगर शिक्षा शाखाका प्राविधिक सहायक (प्रा.स.) प्रेम केसीले जानकारी दिनुभएको छ ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय बाहेक अन्यले अहिलेसम्म पाठ्यपुस्तक पाएका छैनन् । सरस्वती माविले दिक्तेलमै सञ्चालित ‘खोटाङ हलेसी सप्लार्यस’मार्फत सबै विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक खरिद गरेको जनाइएको छ ।

    कक्षा–१ देखि कक्षा–१० सम्म ९६५ जना विद्यार्थी अध्ययनरत विद्यालयका लागि हजार थान पाठ्यपुस्तक खरिद गरिएको प्रधानाध्यापक केशरकुमार राईले जानकारी दिनुभयो । “कक्षा–१ देखि र १० सम्मका लागि आवश्यक सबै विषयको पाठ्यपुस्तक ल्याइ सकिएको छ । अहिले विद्यालयमा भर्ना अभियान चलिरहेको छ”, उहाँले भन्नुभयो, “कक्षा–११ र १२ का लागि ल्याउन बाँकी छ । भर्ना अभियान सम्पन्न भएलगत्तै सबै विद्यार्थीलाई हातहातमा पुस्तक उपलब्ध गराएर तोकिएकै मितिदेखि कक्षा सञ्चालन गर्छौँ ।”

    जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकामा पनि अहिलेसम्म पाठ्यपुस्तक पुग्न बाँकी रहेको पाइएको छ । एघार वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा माध्यमिक १२ वटा, कक्षा १–८ आधारभूत १५ वटा र ६३ वटा कक्षा १–५ सञ्चालन हुने आधारभूत विद्यालयगरी ९० वटा सामुदायिक विद्यालय छन् ।

    हलेसी तुवाचुङ नगरपालिकामा वैशाख–७ गते परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिनुभयो । “नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयले हलेसीस्थित किराँत स्टेशनरीमा पुस्तक अर्डर गरेका छन् । हामीले नगरबाट बुझ्दा सबै विद्यालयका लागि आवश्यक पुस्तक आइसकेको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष समयमै आवश्यक पुस्तक खरिदको प्रक्रिया अगाडि बढाइएकाले तोकिएकै मितिमा विद्यार्थीलाई वितरण गर्नेछौँ ।”

    शैक्षिक क्षेत्रको सुधारका लागि आवश्यक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको केपिलासगढी गाउँपालिकामा ३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । कक्षा–१ देखि ३ सम्मका विद्यार्थीलाई निःशुल्क अभ्यास पुस्तिकासमेत वितरण गर्दै आएको केपिलासगढीमा केही दिनभित्रै पाठ्यपुस्तक आउने शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभएको छ ।

    जिल्लाका अन्य स्थानीय तहले समेत नयाँ पाठ्यपुस्तक खरिदका लागि सम्झौता गरेको पाइएको छ । न्यू शाक्य पुस्तक सेन्टरसँगै दिक्तेल बजारका सैँजू पुस्तक पसल, श्रेष्ठ बुक पसल र कविता स्टेशनरीले जिल्लाका विभिन्न विद्यालयका लागि आवश्यक नयाँ शैक्षिकसत्रका पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका छन् ।

    नेपाल सरकारले कक्षा–११ र १२ का लागि तीनवटा अनिवार्य विषयहरु नेपाली, सामाजिक र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ । बाँकी ऐच्छिक विषयहरु विद्यार्थी स्वयम्ले खरिद गरेर अध्ययन गर्नुपर्ने प्रावधान भएको हलेसी खबर डटकमले समाचार प्रकाशित गरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया