साकेला- माटोको उर्बराशक्ति पत्ता लगाई माटोको किसिम अनुसार बाली बिरुवाहरु उत्पादन गर्ने उद्देश्यका साथ खोटाङको साकेला गाउँपालिकाले माटो परीक्षण शिविर सुरु गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आज बुधबारदेखि पालिकाको वडा नम्बर ५ स्थित मात्तिमबिर्ताबाट माटो परीक्षण शिविर सुरु गरिएको हो ।
आगामी वैशाख १२ गते सम्म सञ्चालन हुने शिविर पालिकाको सबै वडामा सञ्चालन गरिने कृषि अधिकृत अनन्त ढकालले बताउनुभयो । शिविरको पहिलो दिन जनप्रतिनिधि, टोल सुधार समितिको रोहवरमा वडाका विभिन्न स्थानबाट संकलन गरिएको १७० वटा माटोको नमूना परीक्षण गरिएको छ ।
माटो परीक्षण पश्चात कुन भूगोलमा कस्तो अन्नवालीहरु उत्पादन गर्न सकिन्छ, सो को विस्तृत अध्ययन गरी पालिकाले सो सम्बन्धी अनुदानको व्यवस्थापन गर्ने जनाईएको छ । माटो परीक्षणको नतिजाले साकेलाको आवधिक विकास योजनालाई सार्थकता तुल्याउनका साथै कृषि सम्बन्धी योजना तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो ।
माटो परीक्षणलाई नमुना संकलन तथा तयारी, नमुना बिश्लेषण र शिफारिस प्रतिबेदन तयार तथा कार्यान्वयन गरी तीन चरणमा विभाजन गरेर गर्ने गरिन्छ । माटो परीक्षण सिफारिस प्रतिबेदनमा माटोको पि.एच., माटोमा भएको कूल नाइट्रोजन, उपलव्ध फस्फोरस, उपलव्ध पोटास, प्रांगारिक पदार्थको मात्रा र माटोको बनौटको नतिजाको आधारमा कुन कुन बालीलाई के कति मलखाद प्रयोग गर्ने, अम्लिय माटोको सुधार गर्न के कति कृषि चुन प्रयोग गर्ने र माटोको उर्बराशक्ति व्यवस्थापनको लागि के गर्ने भन्ने कुराहरु उल्लेख गरिएको हुन्छ । सबै वडाहरुमा नमूना परीक्षण भएपछि प्रतिवेदन उपलब्ध गराईने अधिकृत ढकालको भनाई छ ।
प्रतिक्रिया