साकेला- साकेला गाउँपालिकामा सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा ४ सय ७७ जना लाभग्राहीले सेवा पाएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका अशक्त तथा वृद्धवृद्धालाई सहज बनाउने उदेश्यले चालु आर्थिक वर्ष २०७९/०८० को तेश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम उक्त पालिकाको सबै वडामा केन्द्र बनाएर शिविर सञ्चालन गरिएको हो ।
नेपाल एसबिआई बैंकमा खाता भएका लाभग्राहीका लागि बैंकले वडा वडामै रकम वितरण गरेको हो । गाउँपालिका र बैंकको संयुक्त आयोजनामा वैशाख ३ गतेदेखि ८ गतेसम्म शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन वैशाख ३ मा उक्त पालिकाको वडा नम्बर १ को बाँझेच्यानडाँडाका ७८ जना लाभग्राहीलाई ९ लाख ६२ हजार, दोश्रो दिन सोही वडाको डाँडागाउँमा सञ्चालन गरिएको शिविरमा ७८ जनाको लागि ८ लाख ४९ हजार, तेश्रो दिन वैशाख ५ गते सोही गाउँपालिकाको वडा नम्बर २ रतन्छामा १२७ जना लाभग्राहीलाई १४ लाख ९७ हजार रुपैंया वितरण गरिएको बैंङ्कका प्रबन्धक मेदनी प्रसाद रिजालले बताउनुभयो ।
त्यस्तै, वैशाख ६ गते वडा नम्बर ३ खिदिमामा सञ्चालन गरिएको शिविरमा ६६ जना लाभग्राहीलाई ९ लाख ८ हजार ५ सय, वैशाख ७ गते वडा नम्बर ५ को मात्तिमबिर्ताका ९८ जना लाभग्राहीलाई १० लाख ५६ हजार र शिविरको अन्तिम दिन वडा नम्बर ४ का ३० जना लाभग्राहीलाई ५ लाख २५ हजार रुपैंया रकम भुक्तानी गरिएको प्रबन्धक रिजालले बताउनुभयो ।
शिविरमा गाउँपालिका र बैंकका कर्मचारी खटिएको साकेला गाउँपालिका सामाजिक सुरक्षा शाखा संयोजक डिएम चाम्लिङ राईले बताउनुभयो । साकेलामा आ.व. २०७७/०७८ को दोश्रो चौमासिकदेखि सामाजिक सुरक्षा रकम बैंङ्किङ प्रणाली मार्फत वितरण गर्न सुरु गरिएको हो ।
प्रतिक्रिया