चैत्र ११, २०८१ सोमबार
  • ताजा अपडेट
  • English
  • सामुदायिक विद्यालयको नतिजा निराशाजनक

    खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा–८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङ नगरपालिकाले चैत–९ गतेदेखि १६ गतेसम्म कक्षा–४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो ।

    कक्षा–४ र ५ सञ्चालन भइरहेका ४२ र कक्षा–६ देखि ८ सञ्चालन भइरहेका १५ वटा आधारभूत तथा १२ वटा माध्यमिक विद्यालयलाई वार्षिक परीक्षामा सहभागी गराइएको थियो । नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय बाह्य मुल्याङ्कनमा देखिएको विद्यार्थी उत्तीर्ण प्रतिशत भने निराशाजनक छ ।

    जनता मावि सल्लेका कक्षा–४ मा अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषयमा कुनै पनि विद्यार्थी उत्तीर्ण भएनन् । कक्षा–४ मा विज्ञानमा एकजना मात्र विद्यार्थी उत्तीर्ण हुन सफल भएको पाइएको छ । सोही माविको कक्षा–७, ८ र ९ मा गणितमा उत्तीर्ण दर शुन्य देखिएको छ । कक्षा–६ मा गणितमा एकजना र सामाजिकमा दुईजना मात्र उत्तीर्ण भएका छन् । कक्षा–७ मा सामाजिकमा एकजना उत्तीर्ण भएका छन् ।

    कुनै पनि विषयमा उत्तीर्ण हुनका लागि विद्यार्थीले आन्तरिक र बाह्य मूल्याङ्कनमा न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यस्तै, ज्योती मावि राजापानीको कक्षा–४ मा गणित, सामाजिक र विज्ञानमा एकजना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । कक्षा–५ मा पनि गणितमा नतिजा शुन्य देखिएको छ । कक्षा–६ मा अङ्ग्रेजीमा दुईजना, नेपाली, गणित, सामाजिक र विज्ञानमा एक÷एक जना उत्तीर्ण भएका छन् । कक्षा–७ मा गणितमा एकजना मात्रै उत्तीर्ण भएका छन् ।

    कक्षा–८ मा अङ्ग्रेजीमा तीन, नेपालीमा तीन, गणितमा एक, सामाजिकमा तीन र विज्ञानमा एक तथा कक्षा–१० मा गणितमा एकजना मात्र उत्तीर्ण भएका छन् । आन्तरिक मूल्याङ्कनतर्फ सम्बन्धित विद्यालयले पहिलो र दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरेको थियो । नगरस्तरीय परीक्षाका लागि उत्तरपुस्तिका र प्रश्नपत्र नगरपालिकाले व्यवस्था गरेको थियो । नगरस्तरीय परीक्षालाई निष्पक्ष बनाउन उत्तर पुस्तिका कोडिङ गरेर फरकफरक विद्यालयलाई परीक्षण गर्न दिइएको थियो ।

    नगरपालिकाभित्रका माविमध्येमा नगरस्तरीय वार्षिक परीक्षामा कालिका मावि बाहुनीडाँडाको उत्तीर्ण दर सबैभन्दा उत्कृष्ट देखिएको छ । कालिका माविका कक्षा–४ देखि कक्षा–९ सम्मका १२१ विद्यार्थी परिक्षामा सहभागी भएकामा ४७ प्रतिशत उत्तीर्ण भएका छन् ।

    सरस्वती मावि अर्खौलेका परिक्षामा सहभागी १८९ विद्यार्थीमध्ये ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बुलापन्थे मावि धितुङका परीक्षामा सहभागी २१८ विद्यार्थीमध्ये ४१ प्रतिशत, महेन्द्रोद्धय मावि हलेसीका परीक्षामा सहभागी २१८ विद्यार्थीमध्ये ३० प्रतिशत, लक्ष्मी माविका परीक्षामा सहभागी ८४ विद्यार्थीमध्ये २९ प्रतिशत, दुर्छिम माविका १३२ विद्यार्थीमध्ये २६ प्रतिशत उत्तीर्ण भएका छन् ।

    यस्तै, मालिकादेवी कदुवाका परीक्षामा सहभागी १११ विद्यार्थीमध्ये २६ प्रतिशत, दाम्ली माविका १२३ मध्ये २४ प्रतिशत, ज्योती माबि राजापानीका १३५ विद्यार्थीमध्ये १४ प्रतिशत, जनता मावि सल्लेका ७८ विद्यार्थीमध्ये १२ प्रतिशत र च्यास्मिटार माविमा २७४ विद्यार्थी परिक्षामा सहभागी भएकामा १० प्रतिशत उत्तीर्ण भएका छन् ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिकाबाट  एक करोड ४७ लाख बजेट विनियोजन गरेको थियो । परीक्षा प्रणालीमा सुधार, अङ्ग्रेजी माध्यममा पढाइ, स्थानीय भाषामा पठन÷पाठन, विद्यार्थीलाई शुल्क मिनाहा लगायतका योजना बनाएर नगरपालिकाले शैक्षिक गुणस्तर सुधारको पहल थालेको हो ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यकताका आधारमा नगर शिक्षक नियुक्ती, दरबन्दी समायोजन, विद्यालय थपघट लगायतका योजनासमेत बनाइएको थियो । विद्यार्थीलाई सामुदायिक विद्यालयप्रति आकर्षित गर्न सरकारले लागू गरेको दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले प्रभावकारी रुपमा कार्यान्वयन गराए पनि नतिजाका कारण अभिभावकसमेत झस्किएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया