मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • आवधिक योजनाबारे अन्तरक्रिया देशकै नमूना कार्यक्रम

    डिएम चाम्लिङ राई (काठमाडौ)- आगामी ५ वर्षभित्र समृद्ध गाउँपालिका बनाउने लक्ष्यका साथ आवधिक योजना निर्माणमा जुटेको खोटाङको साकेला गाउँपालिकाले शनिबार काठमाडौमा उपत्यकामा रहनुहुने विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम गरी सुझाव संकलन गरेको छ । निर्माण हुन लागेको आवधिक योजनाले कस्ता विषयवस्तुलाई प्राथमिकता दिँदा गाउँपालिकाको दिगो विकास लक्ष्य हाँसिल गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सुझाव संकलन गरिएको हो ।

    चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार आवधिक योजना निर्माणमा जुटेको पालिकाले गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षता तथा महालेखा परीक्षक टंकमणी शर्माको प्रमुख आथित्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

    आवधिक योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै महालेखा परीक्षक टंकमणी शर्माले साकेला गाउँपालिकाले निर्माण गर्न लागेको आवधिक योजनाले दिगो विकास लक्ष्यको ढोका खोल्ने बताउनुभयो । लामो समयसम्म पनि गाउँको अवस्थामा परिवर्तन नभएको बताउँदै उहाँले आवधिक योजनाले गाउँको विकासको खाका कोर्नेमा आफू विश्वस्त भएको र आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले आवधिक योजनाबारे गाउँपालिकाले राय सुझाव संकलनका लागि राजधानीमा आयोजना गरेको कार्यक्रम देशकै नमूना भएको बताउँदै अध्यक्ष सहित सिंगो गाउँपालिका टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    कार्यक्रमका विशिष्ट अतिथिको रुपमा बोल्नुहुँदै प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले आवधिक योजनाले साकेलाको समृद्धिको ढोका खोल्ने बताउनुभयो । आवधिक योजना स्थानीय जनभावना अनुसारका विकास योजनालाई प्राथमिकता राखी निर्माण गर्न समेत उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो- देश विकासका लागि हामी शब्दमा मात्र व्यक्त गर्छौं तर व्यवहारमा कहिल्यै उतार्दैनौ उहाँले भन्नुभयो अब काम गर्ने समय आएको छ, गाउँपालिकाले निर्माण गर्न लागेको यो आवधिक योजनालाई हामी सबै मिलेर पूर्णता दिनुपर्छ ।

    त्यस्तै विशिष्ट अतिथि पूर्व सचिव सागर कुमार राईले आवधिक योजनामा भौतिक पूर्वाधार सँगै कृषि र पर्यटनलाई प्राथमिकतामा राखी निर्माण गर्न सुझाव दिनुभयो । आवधिक योजनालाई टेकेर पालिकाको थप विकास प्रकृया अघि बढ्ने बताउँदै उहाँले साकेलाको गौरवको योजनाको रुपमा तावाताललाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो । साकेलाको आन्तरिक आयको प्रमुख सम्भावना बोकेको तावाताल लगायतका अन्य पर्यटकीय विकासका पूर्वाधार निर्माण गर्न उहाँको सुझाव थियो ।

    आवधिक योजना निर्माणबारे विस्तृत भनाई राख्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले निर्माण हुन लागेको आवधिक योजनामा आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपद, संस्थागत विकास तथा सुशासनक्षेत्रको चौतर्फी विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाको खाका तय गरिने बताउनुभयो।

    आवधिक योजना बनाउन गाउँपालिकाले विगतको अनुभव र वर्तमानको बस्तुस्थितिको सुक्ष्म विश्लेषण गरी हिजो भए गरेका अभ्यास र त्यसबाट प्राप्त अनुभव तथा बर्तमानको धरातलीय यथार्थतालाई टेकेर भविष्यमा के गर्दा पालिकालाई दिगो विकास र समृद्धितर्फ लान सकिन्छ भन्ने कुराको गहिरो ढंगले अध्ययन गर्दै आवधिक योजना निर्माण गरिने उहाँले बताउनुभयो ।

    आवधिक योजना प्रभावकारी र दीर्घकालीन महत्वको बनाउन साकेलामा जन्मेर राज्यको विभिन्न तह र तप्कामा क्रियासिल विशिष्ट व्यक्तित्वहरुबीच अन्तरक्रिया चलाईएको हो । सबै क्षेत्र र तहतप्काको अनुभव र ज्ञानलाई समेटेर गाउँपालिकाको भविष्य उज्वल बनाउन यस्तो गरिएको अध्यक्ष राईले बताउनुभयो ।

    साकेला गाउँपालिकालाई भोलि कस्तो बनाउने भन्ने जिम्मा हाम्रै हातमा रहेको भन्दै शब्दमा मात्र नभएर व्यवहारमै गाउँपालिकालाई समृद्ध बनाउन सबैजना लागी पर्न उहाँको आग्रह थियो। हिजोको स्थिति र आजको वस्तुगत धरातललाई हेरेर भोलि कसरी अघि बढ्दा जनता सुखी, खुसी र समृद्ध हुन्छन् भन्ने लक्ष्य प्राप्त गर्न समय निर्धारण गरेर अघि बढ्ने गरी आवधिक योजना बनाउन लागेको उहाँको भनाई छ ।

                                                                                           माननीय महालेखा परीक्षक श्री टंकमणी शर्मा ।

    होटल कुटुम्ब ललितपुरमा भएको विशिष्ट व्यक्तित्वहरुसँगको छलफलमा प्रदेश मुख्य न्यायधिवक्ता परिवर्तन राई, पूर्व सहसचिव बिजेन्द्र राई, उपसचिव कृष्ण बहादुर कटवाल, उपसचिव शशि राई, उपप्राध्यापक यादेवी ढकाल, सहायक प्राध्यापक शिव प्रसाद भट्टराई, शाखा अधिकृतहरु जयकला राई, प्रतिज्ञा राई, इन्जिनियर रविन्द्र राई लगायतले बन्न लागेको आवधिक योजनाबारे सुझाव दिनुभएको छ । आवधिक योजनामा दिगो सडक पूर्वाधार र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिनका लागि सुझाव प्राप्त भएको छ भने शिक्षा र स्वास्थ्यलाई समेत क्रमश प्राथमिकता दिनुपर्ने विज्ञहरुबाट सुझाव प्राप्त भएको छ ।

    कार्यक्रममा साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, सामाजिक विकास अधिकृत दुर्ग बहादुर राई लगायत साकेलाबासी नागरिकहरुको सहभागिता रहेको थियो ।

    आवधिक योजना निर्माणका लागि पालिकाले यसअघि वडास्तरीय छलफल गर्नुका साथै योजना तर्जुमा सम्बन्धी अभिभुखिकरण कार्यक्रम सञ्चालन गरिसकेको छ । आवधिक योजना बनाउने काममा ‘सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट स्टडिज प्रालि (सिडिएस)ले प्राविधिक सहयोग गरिरहेको छ।

    आवधिक योजना निर्माणका लागि गाउँपालिका अध्यक्ष संयोजक तथा उपाध्यक्ष सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहेको ३ सदस्यीय ‘आवधिक योजना निर्माण निर्देशक समिति’ गठन गरिएको छ भने समितिलाई सहयोग गर्न बिभिन्न विषयगत समिति संयोजकहरु सदस्य रहेको छुट्टै संयन्त्र पनि निर्माण भईसकेको छ।

    Exif_JPEG_420

    छलफल तथा सुझाव संकलन कार्यक्रममा उपस्थित महालेखा परीक्षक माननीय टंकमणी शर्मा साथमा साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया