चैत्र ६, २०८१ बुधबार
  • ताजा अपडेट
  • English
  • लम्पी स्किन रोगबाट खोटाङमा ६० बढी पशुचौपाय मरे

    खोटाङ- खोटाङमा लम्पी स्किन रोगको महामारीबाट हालसम्म ६० भन्दा बढी पशु चौपाय मरेका छन् । जिल्लाको दशवटै स्थानीय तहहरुमा देखा परेको लम्पी स्किन रोगले सबैभन्दा धेरै जन्तेढुंगामा गाईगोरु मरेका छन् । जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा ७ वटा, बोपुङमा १२ वटा, काहुलेमा ५ वटा, डम्बर्खुशिवालयमा ४ वटा, चिसापानीमा २ वटा गाईगोरु मरेको जन्तेढुंगास्थित पशुसेवा शाखाले जानकारी दिएको छ ।

    यस्तै, उक्त रोगका कारण हलेसी तुवाचुङ नगरपालिकामा २८ वटा गाईगोरु मरिसकेका छन् । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा ५ वटा गाईगोरु मरेका छन् । एउटै वडामा लगातार गाईगोरु मर्न थालेपछि नगरपालिकाको प्राविधिकसँगै वडाले छुट्टै एक जना पशुसेवा प्रविधिकको पनि व्यवस्था गरेर उपचार गरिरहेको बताईएको छ । रावा बेसी  गाउँपालिका–२ खार्पामा पनि एउटा गाईको बाछो मरेको पालिकाका पशुसेवा शाखाले जनाएको छ ।

    यस्तै,  केपिलासगढी, खोटेहाङ, बराहपोखरी, ऐसेलुखर्क, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अधिकांश ठाउँका गाईगोरुमा पनि लम्पी स्किन रोग देखा परेको छ । भारतबाट २०७७ सालमा मोरङ हुँदै नेपाल छिरेको लम्पी स्किन रोग हाल देशका ३० बढी जिल्लामा फैलिएको बताइएको छ । बिशेष गरी यो रोग ठुला पशुचौपाया गाई, गोरु, भैंसी, राँगोमा देखापर्ने विज्ञहरुको भनाइ छ । खोटाङमा भने गाईगोरुमा मात्र देखा परेको छ ।

    अधिकांश गाईगोरुमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने लगायतका लक्षण देखिएपछि कृषकहरु चिन्तित बनेका छन् । लम्पी स्किन रोग लामखुट्टे, भुसुना, झिंगा आदिको टोकाईबाट सर्ने विज्ञहरु बताउछन् ।

    लम्पी स्कीन रोगबारे जानकारी मूलक सन्देश

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया