साकेला- साकेला गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमको वीउपूँजी अनुदान कार्यक्रम अन्तर्गत महिला कृषक समूहलाई रकम हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले समावेशी महिला कृषक समूह साकेला-४ मात्तिमका अध्यक्ष सरीता राईलाई एकमुष्ठ ६ लाख २५ हजार रुपैंया रकम हस्तान्तरण गर्नुभयो ।
यसरी वितरण गरिएको रकमबाट समूहमा आवद्ध २५ जना महिला सदस्यलाई जनही २५ हजार रुपैंयाका दरले व्यवसायिक कार्यका लागि वीउपूँजी रकम उपलब्ध हुनेछ । आफूले प्राप्त गर्ने वीउपूँजी अनुदानबाट बाख्रा, तरकारी खेती लगायत व्यवसायमा सदस्यहरुले लगानी गरि वार्षिक रुपमा उक्त वीउपूँजीलाई वृद्धि गर्दै व्यवसायिक बन्नु पर्ने प्रावधान छ ।
रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष राईले समूहले प्राप्त गरेको अवसरलाई सही सदुपयोग गर्दै समृद्ध, स्वस्थ्य र सुखी जीवनका लागि संवेदनशिल भएर काम गरि लक्ष्य प्राप्तिमा अहम भूमिका खेल्न महिला कृषक समूहलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा उहाँले आफ्नो गाउँटोलमा निर्माण हुने विकासका कार्यहरुमा राजनैतिक आस्था, जात, भूगोलका कारण कसैले विभेद गरेको पाईएमा पालिकालाई मान्य नहुने र नागरिक विभाजित र विवादित नभई त्यस्ता कार्यको खुलेर विरोध गर्न स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । अध्यक्ष राईले विकासको कार्यमा सबैखाले नागरिकलाई समावेश नगराई वडाहरुले विभेद गरि कार्यान्वयन गरेको अवस्थामा समेत पालिकालाई उजुरी गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो- नागरिकले गरेको अपेक्षालाई हामीले कहिल्यै कुल्चेर हिडेका छैनौं, नागरिकले सजाएको विकास र समृद्धिको सपनालाई पुरा गर्न हामीले बोलेका र प्रतिवद्धता गरेका कुराहरु पुरा गर्दै जान्छौं । अहिलेसम्म हामीले विकासका कार्यसँगै नीतिनियम, ऐन तथा नियमावलीहरु निर्माणलाई समय खर्चिरहेका छौं, समग्र पालिकाको विकास र परिवर्तनका लागि न्यायपूर्ण कार्य गर्न प्रयत्नशिल छौं-अध्यक्ष राईले भन्नुभयो ।
हामी साकेला गाउँपालिकालाई जनताकै सरकार बनाउन खोजिरहेका छौं, अब बन्ने पञ्चवर्षीय आवधिक गुरुयोजना मार्फत लोकतन्त्रको संस्थागत विकास गरी आफ्नो गाउँ तथा टोलको विकास गर्न योजना माग्दै कार्यालयको ढोका ढकढक्याउनुपर्ने अवस्थाको अन्त्य हुनेछ –अध्यक्ष राईको भनाई छ ।
सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले बीउपूँजी रकमलाई पैसा दिने र लिने भन्दा पनि बहुक्षेत्रीय पोषण कार्यक्रमको लक्ष्य अनुरुप कार्य गर्न आग्रह गर्नुभयो । महिलाहरुको आर्थिक, सामाजिक उन्नतिका लागि अगाडी बढ्न स्वस्थ्य जीवन आवश्यक भएको बताउँदै सबै समुदायका महिलाहरुलाई अगाडी बढाउनका लागि पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत उपाध्यक्ष राईले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाले विपन्न सुनौलो हजार दिनको आमा तथा किशीरीहरुको आयआर्जन सुधार गरि पोषणमा सुधार गराउने उदेश्यका साथ महिला समूहहरुको लागि प्रस्ताव आह्वान गरेको थियो । गाउँपालिका भरिका ८ वटा महिला समूहहरुबाट प्रस्तावपत्र आएकोमा समावेशी महिला कृषक समूह साकेला-४ सबैभन्दा उत्कृष्ट समूह छनौट भएको थियो । यसरी छनौट भएको समूहले एक वर्षभित्र समूहलाई सहकारीमा रुपान्तरण गर्नुपर्ने प्रावधान रहेको बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक नविन कुमार राईले बताउनुभयो ।
तस्विरहरु
प्रतिक्रिया