जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेलाले सुरु गर्यो विद्युतीय भुक्तानी सेवा

    साकेला- खोटाङको साकेला गाउँपालिकाले विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेको छ । परीक्षणको रुपमा सुरु गरिएको यो सेवाले सेवाग्राहीलाई लाइनमा बसेर भुक्तानी गर्नुपर्ने समस्या समाधान हुने भएको छ ।

    सेवा सुरु भएपछि गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिने सेवाग्राहीको बैंक खातामा रकम जम्मा हुने गाउँपालिकाले जनाएको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत गरिएको जनाइएको छ ।

    यो सेवाका लागि सेवाग्राहीको चेकको फोटोकपी अनिवार्य चाहिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेको छ ।

    यस गाउँपालिकामा परीक्षणका रुपमा विद्युतीय भुक्तानी सेवा सुरु भएको हो । परीक्षणका रुपमा केही सेवाग्राही र उपभोक्ता समितिको खातामा अनलाइन भुक्तानी गरिरहेको भए पनि आगामी साउनदेखि सबै क्षेत्रको भुक्तानीमा अनिवार्य गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो । विद्युतीय भुक्तानी सेवालाई अनिवार्य गरेपछि उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।

    विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्नमा सघाउ पुग्ने अधिकृत राईको भनाइ छ ।

    विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि गाउँपालिका धाउनुपर्ने समस्याको अन्त्य हुने लेखापाल भोजराज खनालले बताउनुभयो । जिल्लाको ऐसेलुखर्क गाउँपालिकाले यसअघि नै विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरिसकेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया