श्रावण २, २०८२ बुधबार

आवधिक योजना निर्माण अन्तिम चरणमा- यस्ता छन् गौरवका योजनाहरु

साकेला- साकेला गाउँपालिकाले निर्माण गर्न लागिरहेको पञ्चवर्षीय आवधिक विकास योजना अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको भविष्य र दिगो विकासको खाका बोकेको आवधिक योजनाले भौतिक विकास सँगै पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि लगायत डिजिटल पालिका निर्माणको परिकल्पना गरेको छ ।

साकेलाले चालु आ.व. २०७९/०८० को नीति तथा कार्यक्रममै समावेश गरेर आवधिक योजना निर्माण गर्ने जनाएको थियो । २०७९ फागुन २ गते आवधिक योजना निर्माण सम्बन्धि अभिमुखिकरण सँगै विभिन्न सम्यन्त्रहरु निर्माण गरि प्रारम्भ गरिएको आवधिक योजना निर्माण अन्तर्गत सबै वडाहरुमा वस्तुस्थिति विष्लेषण सहित अन्तरक्रिया गरिएको थियो ।

त्यस्तै, २०७९ चैत्र ७ देखि ९ गतेसम्म तीन दिन दीर्घकालिन सोंचको तयारी, विकासको प्राथमिकीकरण र विकासको आवश्यकता पहिचान गर्नका लागि पालिकास्तरीय कार्यशाला गोष्ठि सञ्चालन गरिएको थियो । आवधिक योजनालाई वस्तुनिष्ठ, व्यवहारिक, पारदर्शिता र विश्वसनीय बनाउनका लागि २०८० जेष्ठ ६ गते साकेलामा जन्मिएर राज्यको विभिन्न तह र तप्कामा पुग्नुभएका विशिष्ट व्यक्तिहरुको सुझाव संकलन गर्न संघीय राजधानी काठमाडौमा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

निर्माण भईरहेको आवधिक योजनालाई अन्तिम रुप दिन ०८० जेष्ठ ३० गते गाउँपालिकाको सभाहलमा योजना तर्जुमा मस्यौदा प्रस्तुति तथा प्रमाणिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सस्टनेबल डेभलपमेन्ट स्टडिज प्रालिको प्राविधिक सहयोगमा निर्माण भईरहेको आवधिक योजनामा आगामी पाँच वर्षभित्र साकेला गाउँपालिकालाई कस्तो बनाउने भनेर भविष्यको खाका कोरिनेछ । आवधिक योजनामा ५० वर्ष पछि सम्मको विकासको परिकल्पना गरिएको छ ।

७५३ स्थानीय तहमध्ये साकेला गाउँपालिकाले फरक तरिकाबाट भविष्यको सपना सजाएर आवधिक योजना निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । संघ तथा प्रदेश र अन्य स्थानीय तहहरुले भविष्यको खाका कोर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो- पाँच वर्षभित्र गाउँपालिकालाई विकासको गतिमा कहाँसम्म लैजाने र आगामी ५० वर्षपछि यस गाउँपालिकालाई कस्तो बनाउने भनेर भविष्यको खाका हामी तयार गर्दैछौं ।

साकेलाले निर्माण गरिरहेको आवधिक योजनामा नागरिकको भावना र उनिहरुको सपना समेटिनेछ, नागरिकले खोजेको विकासको परिकल्पना गरिएको छ, अध्यक्ष राईले भन्नुभयो पूर्ण लोकतान्त्रिक विधिद्धारा नागरिकको अपेक्षालाई आवधिक योजनामा समेटेर दिगो विकासको खाका कोरिनेछ ।

अध्यक्ष राईले भन्नुभयो- हामीले सपना देख्यौं, देखिएको सपनालाई बिपनामा रुपान्तरण गर्न प्रयत्नशिल भएर लागि पर्दा पहिलो खुड्किला तयार भएको छ, यसलाई दिगो लक्ष्यमा पुर्याउनका लागि सबै तह र तप्काका नागरिकहरुले साथ दिनुपर्छ । जनप्रतिनिध होस् या कर्मचारी वा राज्यको जिम्मेवार व्यक्ति, राम्रो काम गरेको छ भने राम्रै भन्नुपर्छ, नराम्रो भए खबरदारी गर्नुपर्छ तर यहाँ राम्रो गर्दा पनि आलोचना गर्नेहरु अधिकांश भेटिन्छन् अध्यक्ष राईले भन्नुभयो- राम्रो कामको आलोचना गर्नु पनि विकास विरोधी हुनु हो, त्यसले समग्र विकास प्रकृयालाई अवरोध पुर्याउँछ । गाउँपालिकाले निर्माण गरिरहेको पाँच वर्षे आवधिक योजनाले आगामी ५० वर्ष सम्मको भविष्य बोकेको अध्यक्ष राईको भनाई छ ।

गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले दिगो विकासको लक्ष्य पुरा गर्दै नागरिकले देखेको विकासको सपनालाई आवधिक योजनाले सार्थकता दिने बताउँदै दिगो विकासको आधारशिला भनेकै आवधिक योजना भएकाले सबैले साथ दिन आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत महेश राई, १ नम्बर वडा अध्यक्ष हेमन राई, २ नम्बर वडाका कार्यवाहक अध्यक्ष भक्तबहादुर कटवाल, ३ नम्बर वडाका अध्यक्ष गोविन्द तामाङ, ४ नम्बर वडाका अध्यक्ष अर्जुन कुमार कटवाल, ५ नम्बर वडाका अध्यक्ष जीवन खत्रीले पालिकाले निर्माण गर्न लागेको आवधिक योजनामा समावेश हुने विकास योजनाहरुलाई अक्षरस पालना गर्दै त्यसैको जगमा टेकेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आवधिक योजनामा समावेश गरिएका मुख्य-मुख्य गौरवका योजनाहरु, आगामी ५ वर्षभित्र पुरा गर्नुपर्ने योजना

  • तावाताल- तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय विकास गर्न पर्यटकीय पूर्वाधार तथा ताल निर्माण
  • बाँझेच्यानडाँडा-रतन्छा-मानेभञ्ज्याङ-काल्चिनखोला सडक स्तरोन्नती र कालोपत्रे
  • साप्सुखोला-मानेभञ्ज्याङ-तावाभञ्ज्याङ सडक कालोपत्रे
  • कात्तिके-सोस्तुङ-नैनेपाटी रतन्छा सडक कालोपत्रे
  • गाउँपालिकालाई डिजटल पालिका निर्माण
  • मपारुङभीर, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुवाली, तावादोभान पर्यटन प्रवर्द्धन
  • खानेपानी- एक घर एक धारा कार्यक्रम
  • खेलकुद- दारुलाटार, नौलाखर्क खेलमैदान निर्माण प्याराफिट सहित
  • स्वास्थ्य- सबै स्वास्थ्य संस्थाहरुलाई आधुनिक संरचना सहित गुणास्तरीय सेवा
  • साकेला ट्रेल र साँस्कृतिक भिलेज निर्माण
  • शिक्षा- पाँच वटा माध्यमिक विद्यालयहरुलाई नमूना विद्यालय निर्माण
  • भाषा, कला, संस्कृतिको संरक्षण गरी नमूना पालिका निर्माण
  • कृषि- तेलहन बालिको उत्पादनमा वृद्धि गरी (माछा,मौरी) अन्य कृषि उत्पादनमा जोड
  • एक घर- एक व्यवसाय-एक रोजगार कार्यक्रम
  • सबैमैत्री (अपाङ्ग, बालबालिका, महिला, जेष्ठ नागरिक, पोषण लगायत) पालिका निर्माण गरी नमूना पालिका बनाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया