साकेला- साकेला गाउँपालिकामा एकैसाथ ‘आधारभूत स्वास्थ्य केन्द्र’ र ‘प्रसुती गृह’को उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य केन्द्र र सोही केन्द्रमा रहने ‘प्रसुती गृह’को उद्घाटन गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले गर्नुभएको हो ।
साविकको मात्तिमबिर्ता गाविसको वडा नं. ४, ६, ८ र ९ वडालाई समेटेर स्थापना गरिएको आधारभूत स्वास्थ्य केन्द्रले चार वर्षसम्म स्थानीय व्यक्तिको घरबाट सेवा प्रवाह गर्दै आएकोमा विगत एक वर्षअघि मात्र महिला सशक्तिकरणको भवनमा सरेर सेवा प्रवाह गर्दै आएको थियो ।
भवन निर्माणका लागि स्थानीयहरु विष्णुकुमारी श्रेष्ठ, पूर्णकुमारी श्रेष्ठ र हिरा कुमारी श्रेष्ठले निशुल्क ६ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । भवन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गाउँपालिकाको ६१ लाख रुपैंया खर्च भई सकेको छ । हाल भवनको पहिलो तल्ला निर्माण सम्पन्न भईसकेको छ भने दोश्रो तल्ला निर्माणाधिन अवस्थामै रहेको छ ।
भवनको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राईले स्वास्थ्य सेवा संवेदनशिल क्षेत्र भएको र संविधानले नै नागरिकको मौलिक अधिकारको रुपमा राखेका कारण नागरिकको स्वास्थ्य प्रति संवेदनशिल भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
साकेलाले निर्माण गरिरहेको ‘आवधिक पञ्चवर्षीय योजना’मा समेत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै अध्यक्ष राईले आधुनिक संरचना सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –’स्वास्थ्य क्षेत्र जटिल र संवेदनशिल क्षेत्र भएकाले साकेला सरकारले नागरिकको स्वास्थ्यलाई महत्वका साथ हेरेको छ, स्वास्थ्यकर्मीहरु नागरिकको सेवाका लागि रातदिन खटेर काम गरिरहनुभएको छ, स्थानीय सरकारको मालिक जनता भएकाले आवश्यकता अनुसार टोल र बस्तीमा समेत स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्दै लैजाने पालिका सरकारको लक्ष्य छ ।’
हाल स्वास्थ्य केन्द्रमा एक जना सिनियर अहेव र एक जना तालिमप्राप्त अनमी कार्यरत छन् भने स्वास्थ्य केन्द्रको आफ्नै भवन भएपछि सेवा प्रवाहमा सहजता आउनुका साथै गर्भवती महिलालाई प्रसुती गराउन समेत सहज भएको गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभयो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट नियमित खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण सेवा, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, नवजात शिशु तथा बाल रोग नियन्त्रण, सामान्य आकस्मिक अवस्थाका सेवा तथा नेपाल सरकारले राजपत्रमा सूचना जारी गरी तोकेका अन्य सेवाहरु प्रदान हुने संयोजक ढकालको भनाई छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कुमार खड्काको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, पूर्व उपाध्यक्ष सरीता खड्का, पूर्व वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, प्रमुख प्रशासकीय अधिकृत महेश राई सहित विभिन्न शाखामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मीहरु र वडा सदस्यहरुको उपस्थित रहेको अध्यक्षको नीजि सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया