साकेला- साकेला गाउँपालिकाले विभिन्न सामुदायिक विद्यालयमा कार्यरत उत्कृष्ट प्रधानाध्यापकहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । वर्षभरी उत्कृष्ट कार्य गर्ने प्रअसँगै विद्यालय व्यवस्थापन समितिमा रहेर विद्यालय सुधारका लागि क्रियाशिल भएर काम गर्ने तीन जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु समेत पुरस्कृत भएका छन् ।
गाउँपालिकास्थित शिक्षा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँ शिक्षा समितिले विभिन्न मापदण्ड बनाई छनौट गरेको आधारमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा आधारभूत विद्यालय (१-५) अन्तर्गत जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धन बहादुर खड्का रहनुभएको छ भने आधारभूत तह (१-८) अन्तर्गत पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद घिमिरे रहनुभएको छ । माध्यमिक तह (९-१२) अन्तर्गत साकेला मावि रतन्छाका प्रधानाध्यापक शिवेन्द्र कुमार राई यस वर्षको उत्कृष्ट प्रधानाध्यापक हुनुभएको छ ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुमध्ये आधारभूत तह (१-५) अन्तर्गत सिद्धकाली आविका अध्यक्ष समराज राई, आधारभूत तह (१-८) अन्तर्गत पञ्चकन्या आवि मात्तिमका अध्यक्ष सिधन राई र माध्यमिक तह (९-१२) अन्तर्गत बालबालिका मावि मात्तिमका अध्यक्ष कूल प्रसाद शर्मा फुयाल पुरस्कृत हुनुभएको छ । त्यस्तै, वर्ष उत्कृष्ट विद्यालय अन्तर्गत आधारभूत विद्यालय (१-५) जनता आधारभूत विद्यालय, आधारभूत विद्यालय (१-८) पञ्चकन्या आधारभूत विद्यालय र माध्यमिक तह (९-१२) साकेला माध्यमिक विद्यालय रतन्छा उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भएका छन् ।
पुरस्कृत प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई जनही सात हजार रुपैंया नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ भने उत्कृष्ट ठहरिएका विद्यालयहरुलाई प्रति विद्यालय नगद सात हजार रुपैंया र सम्मानपत्रद्धारा सम्मान गरिएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कृत विद्यालय, प्रधानाध्यापक र विव्यास अध्यक्षलाई गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रमपछि अध्यक्ष राईले पालिकाले गरेको सानो सम्मानले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुमा थप हौसला मिल्ने कुरामा आशावादी रहेको बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्ने जिम्मा शिक्षक तथा अभिभावकको भएको बताउँदै उहाँले राजनैतिक आस्थाभन्दा माथि उठेर काम गर्न सम्पूर्ण शिक्षकहरुलाई सुझाव दिनुभयो । पालिकालाई समृद्धिको गन्तव्यमा लैजाने महत्वपूर्ण खुड्किलो शिक्षा भएको बताउँदै उहाँले शिक्षाको माध्यमद्धारा नै संसार परिवर्तन गर्न सकिने टिप्पणी गर्नुभयो ।
अबको शिक्षा व्यवहारिक र वैज्ञानिक शिक्षा बनाउनु पर्ने, सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमद्धारा पठन पाठन गराउनुपर्ने बताउँदै वक्ताहरुले शिक्षालाई प्रविधिसँग नजोडे देशमा शैक्षिक बेरोजगार बढ्दै जाने बताएका छन् ।
कार्यक्रममा उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडा अध्यक्षहरु गोविन्द तामाङ, जीवन खत्री, शिक्षक महासंघका पालिका अध्यक्ष इन्द्र कुमार तामाङ, साकेला माविका प्रधानाध्यापक शिवेन्द्र कुमार राई, सरस्वती माविका प्रअ शितल राई लगायतले सम्मानित विद्यालय, प्रधानाध्यापक तथा विव्यास अध्यक्षहरुलाई बधाई ज्ञापन गर्दै शैक्षिक अवस्था सुधारबारे सुझाव प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत महेश राईको सभापतित्वमा भएको कार्यक्रममा सिद्धेश्वरी मावि खिदिमाका प्रअ युवराज कटवालले स्वागत मन्तव्य दिनुभएको थियो भने शिक्षा शाखा संयोजक कविराज राईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया