साकेला- खोटाङको साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेमा पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना कार्यक्रम गरिएको छ । पालिका भरीका ३९ वटा टोलहरुमध्ये विश्व स्वास्थ्य संगठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचकहरु पुरा गरेको पाईएपछि उक्त टोललाई शुक्रबार ”पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना” समेत घोषणा गरिएको हो ।
वडास्तरीय खाद्य सुरक्षा निर्देशक समिति संयोजक तथा वडा अध्यक्ष गोविन्द तामाङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना कार्यक्रम सम्पन्न भएको हो । बाँकी ३८ वटा टोलहरुलाई नमूनाटोल सुनिश्चितता गर्ने कार्य सकिएपछि सिङ्गै पालिकालाई पूर्ण रुपमा ”पोषणमैत्री पालिका” घोषणा गरिनेछ ।
‘बहु क्षेत्रीय पोषण कार्यक्रम’ अन्तर्गत साकेला गाउँपालिकालाई आगामी चार वर्षभित्र ‘पोषणमैत्री स्थानीयतह’ घोषणा गर्नेगरि गत जेष्ठ २९ गते बिभिन्न सूचकसहितको ११ बुदे प्रतिवद्धता पत्रमा जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरुले हस्ताक्षर गरेका थिए । सोही प्रतिवद्धता अनुसार ढाँडे टोललाई पालिकासँगै जिल्लाकै पहिलो पटक पोषणमैत्री नमुना टोल सुनिश्चितता र दिगोपना घोषणा गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रमका स्वयमसेवक नविन राईले बताउनुभयो ।
घोषणा कार्यक्रमको अवसरमा उक्त टोलका टोल सुधार समिति अध्यक्ष प्यारीमाया तामाङ र सचिव पूर्णकला तामाङलाई सम्मान-पत्र प्रदान गरिएको छ । साथै ढाँडे टोलका उत्कृष्ट तीन घरका सदस्यलाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पूर्णकला तामाङ, लाप्साङ तामाङ र पूर्णमाया परियार रहनुभएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले तीनै जनालाई नगद सहित सम्मानपत्र प्रदान गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पोषणमैत्री स्थानीयतह घोषणा गर्न गाउँपालिकाले पुरा गर्नुपर्ने ७६ वटा सूचकहरू तय गरिएको छ । जसमध्ये अधिकांश सूचकहरू पुरा भइसकेको बताउँदै अध्यक्ष राईले गाउँपालिकालाई पोषणमैत्री बनाउन जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, वुद्धिजीवी, समाजसेवी, शिक्षक, सरोकारवाला नागरिक सबैले सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।
स्थानीय सरकार, प्रदेश र संघीय सरकारले समेत पछिल्लो समय पोषणको क्षेत्रमा संवेदनशील भएर काम गरिरहेको बताउँदै अध्यक्ष राईले निर्धारित लक्ष्य अनुरूप पोषणमैत्री देश बनाउने अभियानमा साकेला गाउँपालिका अग्रपङ्तिमा रहेको बताउनुभयो । साकेलाबासी नागरिकहरुले सजाएको समृद्धिको सपना पुरा गर्न गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गर्नु पनि प्रमुख कर्तव्य भएको बताउनुभयो । साकेला गाउँपालिकालाई भविष्यमा कस्तो बनाउने, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको क्षेत्रमा गरिने विकासलाई आवधिक योजना मार्फत दिगो विकास र समृद्धिको खाका कोरिएको छ, अध्यक्ष राईले भन्नुभयो प्राथमिकता र आवश्यकताका आधारमा समृद्धिको गन्तव्यमा पालिकालाई पुर्याईनेछ ।
पुरै गाउँपालिकालाई पोषणमैत्री घोषणा गर्न बालबालिकालाई अनिवार्य विद्यालय पठाएर गुणस्तरीय शिक्षा दिएको हुनुपर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकीमा निशूल्क र गुणस्तरीय उपचार र पोषण सेवा सुनिश्चित हुनुपर्ने, गर्भवती, सुत्केरी महिला र बालबालिकालाई पोषण प्रोत्साहन र पोसिलो खाना उपलब्ध गराउनुपर्ने, २ वर्ष मुनिका बालबालिकाको वृद्धि अनुगमन प्रभावकारी बनाउन बाल पोषण अनुदान वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने सूचकहरू रहेका छन्।
त्यसैगरी सुरक्षित खानेपानी र सरसफाई व्यवस्था सुनिश्चित, पूर्ण सरसफाई अभियान, विभिन्न तहका प्रतिवद्धता, कार्य योजना र समन्वय संयन्त्रको सुनिश्चित, सहयोगी निकायबाट प्राप्त हुने सहयोग मूल प्रवाहीकरणमा ल्याएर कार्यान्वयन तथा प्रभावकारी अनुगमन, सबै स्तरमा बहु क्षेत्रीय पोषण योजना तर्जुमा र प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चिततालगायत सूचकहरू पुरा भएको हुनुपर्ने छ ।
त्यसैगरी समाजमा विद्यमान बालविवाह र छुवाछुत तथा जातीय भेदभावजस्ता गलत संस्कार संस्कृतिको अन्त्य गर्न ठोस नियम र कार्यनीति बनाई कार्यान्वयन गर्ने, स्वस्थ्य, सफा र पोषणमैत्री घर, गाउँ, टोल र वडा अभियान सञ्चालन गर्दै आउँदो ४ वर्षभित्र गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गरिने बताईएको छ । पोषणमैत्री स्थानीय तह, वडा, टोल भएको अवस्थामा विभिन्न अनुदानहरु प्राप्त हुने बताईएको छ । खिदिमास्थित साविकको वडा नं.-६, ढाँडेलाई पोषणमैत्री नमूना टोल र दिगोपना कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, जनप्रतिनिधि, पत्रकार तथा स्थानीय नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु, स्थानीयवासीहरुलाई स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयलले पोषणमैत्री स्थानीय टोल बनाउन आवश्यक सूचकहरुबारे प्रष्ट पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया