मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • नागरिकसँगै अध्यक्ष र उपाध्यक्ष, चिण्डो पोखरी सफा गर्न चलाईयो श्रमदान

    साकेला- साकेला गाउँपालिका-३, खिदिमा स्थित तावाभञ्ज्याङमा निर्माण गरिएको वावु (चिण्डो) पोखरी जनश्रमदान मार्फत सफा गरिएको छ । भल तथा बाढीका कारण पोखरी पुरिएपछि मंगलबार वडा कार्यालय खिदिमाको पहलमा स्थानीय नागरिकहरु भेला गराई श्रमदान मार्फत पोखरीमा भरिएको ढुङ्गा, गिट्टी तथा बालुवा निकालिएको हो ।

    साकेला गाउँपालिकाको लगानीमा दुई वर्षअघि निर्माण गरिएको उक्त पोखरी वर्षादको भलका कारण पुरिएको थियो । किराती मिथक र मुन्धुममा आधारित रहेर निर्माण गरिएको उक्त चिण्डो पोखरी पुरिएर अस्थित्व नै हराउन लागेपछि श्रमदान मार्फत सफा गरिएको वडा अध्यक्ष गोविन्द तामाङले बताउनुभयो । जनश्रमदान गर्न एक सय भन्दा बढी स्थानीयवासीको साथमा जनप्रतिनिधि, राजनैतिक कर्मी, कर्मचारीहरु तावाभञ्ज्याङ पुगेका थिए ।

    उक्त पोखरी सफा गर्न र जनश्रमदानलाई साथ दिन साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राई र उपाध्यक्ष बिर्सिका राईको पनि विशेष उपस्थिति रहेको थियो । स्थानीय नागरिकहरुसँगै अध्यक्ष र उपाध्यक्ष दुवै जनाले पोखरीमा भरिएको बालुवालाई निकालेर व्यवस्थापन गर्न सहयोग गर्नुभएको थियो ।

    वडा समितिले चलाएको श्रमदान अभियान उदाहरणिय कार्य भएको बताउँनुहुँदै अध्यक्ष राईले अन्य वडा समितिहरुले पनि विकासका कार्यहरुमा श्रमदान अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभयो । हालसम्म भएका विकासका संरचनाहरु बिग्रदै गएको छ, त्यसलाई सपार्न करोडौं रुपैंया खर्च हुन्छ, जनताको प्रत्यक्ष सरोकार राख्ने प्रकारका भौतिक विकासहरुमा श्रमदान अभियान चलाउन सके राज्यको करोडौं रकम जोगिन्छ- अध्यक्ष राईले भन्नुभयो ।

    मुन्धुम ट्रेलसँगै रहेको उक्त पोखरी सफा गर्न दुई लाख रुपैंया भन्दा बढी रकम लाग्थ्यो वडाध्यक्ष तामाङले भन्नुभयो- श्रमदान अभियानले उक्त रकम खर्च हुन बाट जोगिएको छ । त्यसो त वडा नं. ३ खिदिमाले विकासका कामहरुमा श्रमदान अभियान सञ्चालन गर्ने गरि वडा समितिबाट निर्णय समेत गराई सकेको छ । यसरी सञ्चालन गरिएको श्रम अभियानमा खुवाईने खाजा समेत स्थानीय स्तरमा उत्पादन हुने खाद्य वस्तुहरुको प्रयोग गर्ने गरिएको छ । आयातित समाग्रीहरुलाई प्रतिबन्ध गर्दै वडाबाट सञ्चालन गरिने कार्यक्रमहरु स्थानीय उत्पादनलाई प्राथिमकता दिईने निर्णय गरिएको वडाध्यक्ष तामाङको भनाई छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया