खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले करारका ५७ कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ । गाउँपालिकाको सोमबार बसेको २५औं कार्यपालिका बैठकले पुनर्ताजगीका लागि भन्दै करारका जम्मा ६५ कर्मचारीमध्य ५७ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको हो ।
करारमा काम गरिरहेका तीन जना छैठौं अधिकृत, चार जना पाँचौ तह, कृषितर्फका ११, जनस्वास्थ्यका १८, भेटेनरिका पाँच र अन्य करारका कर्मचारीको करार अवधि नवीकरण नगर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताउनुभयो ।
कतिपय जनप्रतिनिधिहरुले निर्वाचित भए लगत्तै करारका कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारी नियुक्ती गरेको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने ५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रोत्साहन स्वरुप जनही पाँच लाख रुपैंया उपदान र अन्य करारका कर्मचारीलाई डेढ महिनाको तलब बराबरको सुविधा दिएर ससम्मान विदा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले पाँच जना गाउँ प्रहरी, एक जना एम्बुलेन्स चालक, एक जना गाउँपालिका अध्यक्षको सवारी चालक र ब्याकहलोडर अपरेटरको मात्र करार अवधि नवीकरण गर्ने निर्णय गरेको छ । कार्यपालिका वैठकले रिक्त स्थानमा करारका नयाँ कर्मचारी भर्ना गर्नका लागि विज्ञापन खुलाउने निर्णय गरेको छ । परीक्षा मार्फत पुरानै कर्मचारी पनि पुन सेवामा फर्कन सक्ने अध्यक्ष राईको भनाई छ ।
प्रतिक्रिया