साकेला- साकेला गाउँपालिकालाई वातावरणमैत्री हरित पालिका बनाउने अभियान अन्तर्गत विभिन्न कार्यालय, धार्मिकस्थल तथा सार्वजनिकस्थलहरुमा निरन्तर वृक्षारोपण गर्ने कार्य जारी छ । सोही कार्य अनुरुप बुधबार वडा नं. २ को रतन्छास्थित साकेला पार्कमा करीव दुई सय विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । साकेला थान वरिपरी र साकेला पार्कभित्र पारिजात, अशोक, गुल्मर, कल्की जातका विरुवा रोपिएको हो । उक्त वृक्षारोपण अभियानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । गाउँपालिकाले सडक किनारा, कार्यालय परिसर, वडा कार्यालयहरु, स्वास्थ्यसंस्था, विद्यालय, धार्मिकस्थलहरु, सार्वजनिकस्थलमा विभिन्न प्रजातिका मौसम अनुकूल विरुवा रोप्ने अभियान सञ्चालन गरिरहेको छ ।
गाउँपालिका प्रमुख रवि प्रकाश राई स्वयम् उपस्थित भएर वृक्षारोपण गर्ने अभियान सञ्चालन गरिरहनुभएको छ । गत वर्ष पनि गाउँपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका सात सय फूल तथा विरुवा रोपिएको पालिका अध्यक्ष राईले बताउनुभयो । पाँच वर्षको कार्यकालमा गाउँपालिकाभित्रका सडक किनारा, विद्यालय तथा कार्यालय परिसर, धार्मिकस्थलहरुमा २५ हजार विरुवा रोप्ने घोषणा गरे अनुसार निरन्तर वृक्षारोपण अभियान सञ्चालन भईरहेको उहाँको भनाई छ । यसैवर्ष साप्सुखोला-मानेभञ्ज्याङ-तावाभञ्ज्याङ सडक किनारामा सात हजार विरुवा रोपिने उहाँले बताउनुभयो । मौसम र भूगोल सुहाउँदो लालिगुराँस, अशोक, निल्मर, गुल्मर, कल्की, पारिजात, क्रिशमस ट्रि लगायतका विरुवाहरु सडक किनारा, कार्यालय परिसर, बजारक्षेत्र, सार्जनिक क्षेत्रहरुमा भौगोलिक वनावट अनुसार हावापानी सुहाउँदो फलफूलजन्य र भू-क्षयलाई नियन्त्रण गर्ने जैविक प्रकृतिका विरुवा रोपिने अध्यक्ष राईको भनाई छ । (अध्यक्ष रवि प्रकाश राईको भनाई)
साकेला गाउँपालिकाले सञ्चालन गरेको वृक्षारोपण अभियान अत्यन्तै राम्रो भएको स्थानीयवासीहरु बताउँछन् । रतन्छाका स्थानीयवासी सन्तराज राईले गाउँपालिकाले विभिन्न प्रजातिका विरुवाहरु उपलब्ध गराएको प्रति आभार व्यक्त गर्दै विभिन्न विकासका गतिविधिहरुमा गाउँपालिकाले सञ्चालन गर्ने श्रमदान अभियानमा आफूहरुको निरन्तर साथ र सहयोग हुने बताउनुभयो । वृक्षारोपण अभियानमा सहभागि बन्नुभएका पर्वत राईले रोपिएका विरुवाको संरक्षण गर्ने दायित्व आफूहरुकै भएको बताउनुभयो । साकेला पार्कभित्र रोपिएका विरुवाहरुको रेखदेख र गोडमेल गर्ने जिम्मा स्थानीयहरुको भएको बताउनुहुँदै अभियानमा सहभागि सुब्बा राईले रोपिएका विरुवाको जगेर्नामा स्थानीय तथा वडा सरकार र नागरिकको उत्तिकै भूमिका रहेको बताउनुभयो । वृक्षारोपणमा सहभागि सुमन राईले रोपिएको विरुवाको संरक्षण स्थानीयहरु मिलेर गरिने बताउनुभयो ।
प्रतिक्रिया