बैसाख १४, २०८२ शनिबार
  • ताजा अपडेट
  • English
  • डेंगी र आँखा पाक्ने रोगबाट बच्न सतर्कता अपनाउन गाउँपालिकाको आग्रह

    साकेला- महामारीको रुपमा फैलिएको डेंगी र आँखा पाक्ने रोगको नियन्त्रणका लागि साकेला गाउँपालिकाले सबै नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रत्येक टोल तथा विद्यालयमा अभियान सञ्चालन सुरु गरेको छ ।

    विश्व स्तनपान सप्ताहको अवसर पारी हालैमात्र बसेको पालिकास्तरीय आकस्मिक वैठकले महामारी नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री तत्काल जुटाई व्यवस्थापन गर्न गाउँपालिका प्रमुख रवि प्रकाश राईले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई निर्देशन प्रदान गर्नुभएको छ । अहिलेको प्रमुख स्वास्थ्य समस्या डेंगी र आँखा पाक्ने रोग भएकाले विशेष सतर्कता अपनाउन अध्यक्ष राईले निर्देशन दिनुभएको हो ।

    गाउँपालिका प्रमुख राईको अध्यक्षतामा बसेको वैठकले दुवै रोगको महामारी नियन्त्रणका लागि वडा सरकार, टोल विकास सुधार समिति, महिला स्वास्थ्य स्वयम सेविका, आमा समूह, स्वास्थ्यकर्मी, शिक्षक, वुद्धिजीवी, राजनैतिक नेतृत्वलाई परिचालन गर्ने निर्णय भएको छ । त्यस्तै, डेंगी रोग र आँखा पाक्ने रोग सम्बन्धी अभिमुखिकरण सञ्चालन गर्ने, आवश्यक औषधीको व्यवस्थापन र जगेडा गर्ने, आम जनचेतनाको लागि भिडियो सार्वजनिक गर्ने लगायतका निर्णय वैठकले गरेको छ ।

    त्यस्तै पालिकामा सञ्चालित सबै सामुदायिक विद्यालयको पठनपाठनमा वाधा नपर्ने गरि नियमित सञ्चालन गर्ने र संक्रमित विद्यार्थी भए घरैमा राखेर उपचार गराउने व्यवस्था गर्ने गरि निर्णय पारित गरिएको स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभयो । स्वास्थ्यकर्मीहरुका अनुसार वर्षादको समयमा यो रोग बढी देखा पर्छ । सामान्यतया २२ देखि ३४ डिग्रीको तापक्रममा डेंगी रोग फैलने स्वास्थ्यक्रमीहरुको भनाई छ ।

    यसैबीच, डेंगी र आँखा पाक्ने रोग रोकथामका लागि शनिबार पालिकाका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा आकस्मिक वैठक बसी टोल तथा बस्तीस्तरमा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बताईएको छ । आईतबार वडा नं. ३ खिदिमास्थित सिद्देश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई डेंगी रोग र आँखा पाक्ने रोग सम्बन्धी सचेतना मूलक स्वास्थ्य शिक्षा प्रदान गरिएको स्वास्थ्यचौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयाँलले जानकारी दिनुभयो । महामारीको रुपमा फैलिएको डेंगी रोग र आँखा पाक्ने रोगको शंका लागेमा तत्काल नजिकैको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न गाउँपालिकाले आह्वान गरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया