मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • भलबाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

    खोटाङ-अभिरल वर्षासँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक वर्षा, भलबाढी र पहिरोका कारण अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवम् राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् ।

    हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भएपनि केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आएको भलबाढी र पहिरोले अवरुद्ध भएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । “कच्ची अवस्थामा सञ्चालन हुँदै आएको ग्रामीण सडक लगातार परिरहेको भारी वर्षाका कारण अवरुद्ध भएको छ । वर्षेनी अवरुद्ध हुँदै आएको सडक बाह्रै महिना सञ्चालनमा अहिलेसम्म कसैले चासो दिएका छैनन्”, उहाँले भन्नुभयो, “अवरुद्ध सडक बाह्रै महिना सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । यसमा हामी यातायात व्यवसायीहरु सम्बन्धित निकायलाई सहयोग गर्न तयार छौँ ।”

    केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा लगायतका ग्रामीण सडक अवरुद्ध बनेको यातायात व्यवसायीले बताएका छन् । अवरुद्ध ग्रामीण सडक पुनः मर्मत गरेर सञ्चालनमा ल्याउने बारे अहिलेसम्म कसैको ध्यान नगएको यातायात व्यवसायीको आरोप छ ।

    गत वर्षको तुलनामा यस वर्ष ढिलो वर्षाद शुरु भएको र अहिले आएर लगातार परिरहेको वर्षादका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएको महासचिव हिङ्माङले बताउनुभयो । गत चैतबाटै अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक यसअघि मर्मत गरेर सञ्चालनमा ल्याइएपनि केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण पुनः अवरुद्ध भएको यातायात व्यवसायीहरुले बताएका छन् ।

    अवरुद्ध ग्रामीण सडक जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने प्रयास गरेपनि अहिलेसम्म सफल हुन सकेको छैन । सगरमाथा राजमार्ग अन्तरगत तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडक खण्डसमेत अवरुद्ध भएकाले आवतजावत गर्ने यात्रु तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको खोटाङ उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजन आचार्यले बताउनुभयो ।

    कालोपत्र गरेर सञ्चालनमा ल्याइएको दिक्तेल–काठमाडौँ सडकसमेत लगातारको वर्षाका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने उक्त सडक खण्डको विभिन्न ठाउँमा पहिरो झरिरहनुका साथै भलबाढीले अवरुद्ध हुने गरेको यातायात व्यवसायीले बताएका छन् ।

    लगातारको वर्षाका कारण अवरुद्ध सडक बाह्रै महिना सञ्चालनमा ल्याउनेगरी प्रयास भइरहेको स्थानीय तहहरुले बताउने गरेका छन् । जिल्लाको सबैभन्दा ठूलो (पन्ध्रवटा वडा रहेको स्थानीय तह) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत जेठ र असारमा नगरका सबै वडामा बाह्रै महिना यातायात सञ्चालन गर्नेगरी जनश्रमदानमार्फत सडक मर्मत गरेपनि उक्त प्रयास असफल भएको छ ।

    ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि जिल्लाका यातायात व्यवसायीसमेत मारमा परेका छन् । वि.सं. २०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याइएको गाडी सञ्चालन भएको जिल्लामा अहिले साना तथा ठुलागरी ३०० भन्दा बढी यात्रुबाहक सवारी सञ्चालित छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया