मंग्सिर २४, २०८१ सोमबार
  • ताजा अपडेट
  • English
  • ‘टोल-टोलबाट सरकारी सेवा’

    साकेला- नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ साकेला गाउँपालिकाको टोल-टोलमा विभिन्न सेवा सहितको शिविर आयोजना गरिएको छ । शुक्रबार उक्त गाउँपालिकाको वडा नम्बर १ बाँझेच्यानडाँडाको आयोजनामा सोही वडाको सेखुवा डाँडागाउँमा स्वास्थ्य परीक्षण सहितको विविध शिविर सञ्चालन गरिएको छ ।

    शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था समेत मिलाईएको छ भने भौगोलिक विकटताका कारण नियमित रुपमा जग्गाको तिरो तिर्न नपाएका सर्वसाधारणको लागि समेत उक्त शिविर उपयोगी मानिएको छ ।

    भौगोलिक विकटताका कारण वडा कार्यालय सम्म पुगेर फर्कन समस्या हुने नागरिकहरुको समस्यालाई समाधान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको सो वडाका वडा सचिव नमी राईले बताउनुभयो । यस वडा भौगोलिक रुपमा ठूलो र विकट भएका कारण टोल-टोलमा शिविर सञ्चालन गर्नु परेको उक्त वडाका वडाध्यक्ष हेमन राईले बताउनुभयो । सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको उहाँको भनाई छ ।

    सामाजिक सुरक्षा भत्ता नवीकरण शिविरमा उपस्थित लाभग्राहीहरु ।

    हामी जनताको सेवक हौं, नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा हाम्रो सेवा पुर्याउने कोशिष गरिरहेका छौं- साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले भन्नुभयो- ”जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल-टोलबाटै प्रदान हुनेछ ।” हामी डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरै बसीबसी सेवा लिन सक्नुहुनेछ प्रमुख राईले भन्नुभयो- ‘सरकारी सेवा प्राप्त गर्नका लागि नागरिकलाई अहिले व्यहोरिरहेको झण्झटबाट मुक्त गराउनेछौं ।’

    साकेला गाउँपालिकाले निर्माण सुरु गरेको आवधिक योजनामा ‘डिजिटल पालिका निर्माण’ योजनालाई प्राथमिकता दिएर काम सुरु गरेको छ । डिजिटल पालिका निर्माण भईसकेपश्चात नागरिकहरुले अनलाईनबाटै आफूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा घरै बसिबसी लिन सक्नेछन् । वडा कार्यालय तथा पालिकाबाट प्राप्त गर्ने सेवा अन्तर्गत विभिन्न सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व/कर प्रणाली लगायतका सेवा डिजिटल पालिका निर्माण भईसकेपश्चात प्राप्त गर्ने गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

    साकेला गाउँपालिकाले अहिले टोलटोलमा सञ्चाल गरेको विभिन्न प्रकारको शिविरले आफूहरुलाई निकै सुविधा भएको जेष्ठ नागरिक खडिमान राईले बताउनुभयो । आफूले प्राप्त गर्दै आएको भत्ता मिलाउन दुईदिन माया मारेर वडा सम्म पुग्न्पर्थ्यो, उहाँले भन्नुभयो- हाम्रै टोलमा आएर यति काम गरिदिनुभयो, सरकारलाई धन्यवाद । अर्का स्थानीयवासी टेकबहादुर गुरुङले आफ्नै टोलमा सामाजिक सुरक्षा भत्ताको नवीकरण, तिरो तिर्ने काम र स्वास्थ्य जाँच गराउन पाउँदा निकै खुसी व्यक्त गर्नुभयो । पालिका र वडा सरकारले नागरिकको सुविधाका लागि सञ्चालन गरेकाे कार्यक्रम एकदमै राम्रो भएको उहाँले बताउनुभयो ।

    उक्त शिविर भोली शनिबार १ नम्बर वडा कार्यालय बाँझे र पर्सी आईतबार सोही वडाको डाँडागाउँस्थित पिपलडाँडा आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिने बताईएको छ । आज सञ्चालन गरिएको शिविरबाट ६४ जना जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका र लक्षित बालबालिकाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । त्यस्तै ९२ जना नागरिकले शिविरस्थलबाटै जग्गाको तिरो/मालपोत कर बुझाएका छन् भने १५० जना नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी वितरण गरिएको छ । शिविरमा १ नम्बर वडाका वडा अध्यक्ष हेमन राई, वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारीहरु, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई लगायतको उपस्थिती रहेको छ ।

    शिविरमा स्वास्थ्य जाँच गर्दै स्थानीय नागरिकहरु ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया