साकेला- फोहोरमैलाको दिगो व्यवस्थापन गरि साकेला गाउँपालिकालाई ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने अभियानलाई यतिबेला टोल-टोलबाट नागरिकहरु सक्रिय भएर साथ दिईरहेका छन् । गाउँपालिकाको विभिन्न वडाका संघसंस्थाको सक्रियतामा टोल तथा बजार पुग्ने सडक, गोरेटो बाटो लगायत सार्वजनिक स्थलहरुको सरसफाई तिव्र गतिमा भईरहेको छ ।
शुक्रबार साकेला गाउँपालिकाको वडा नं.-२ रतन्छा स्थित साकेला थान, पार्क तथा उक्त पार्क हुँदै महिला एकता मञ्च सम्म पुग्ने करीव ५ किलोमिटर गोरेटो बाटो स्थानीय आमा समूहका पदाधिकारीहरुले सरसफाई गरेका छन् । वडास्थित पूर्ण सरसफाई कार्यक्रमको सक्रियतामा स्थानीय लालिगुराँस स्वास्थ्य आमा समूहले साविक रतन्छा-९ मा पर्ने उक्त गोरेटो बाटो सरसफाई गरेको हो । नेपालीहरुको महान चाडहरु दशैं तिहार लगायतका चाडवाड नजिकिँदै गर्दा टोल-टोलमा गठीत आमा समूह लगायतका संघसंस्थाहरुले बाटोघाटो, सार्वजनिकस्थल, पुलपुलेसा सरसफाई गर्ने कार्यलाई अघि बढाईरहेका छन् ।
यसैबीच, गाउँपालिकाको वडा नम्बर-२ रतन्छास्थित धिकुर्तुङहुँदै गाउँपालिकाको केन्द्रसम्म जोड्ने गोरेटो बाटो पनि स्थानीय आमा समूह तथा टोल विकास संस्थाको सक्रियतामा सरसफाई गरिने भएको छ । आज शनिबार उक्त बाटोको मर्मत सँगै सरसफाई गर्ने भनिएकोमा मौसम प्रतिकूलताका कारण केहिदिनपछि उक्त कार्य सञ्चालन गरिने पूर्ण सरसफाई उत्प्रेरक चुनु राईले जानकारी दिनुभयो ।
साकेला गाउँपालिकाले पालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने भावि लक्ष्य लिएको छ । उक्त अभियान अन्तर्गत पालिकाले विभिन्न पार्क, बजार, सडक, सार्वजनिकस्थल, विद्यालय, सरकारी कार्यालयहरु तथा आवश्यक पर्ने र बढी जनघनत्व हुने ठाउँहरुमा डष्टविन समेत राख्न सुरु गरेको छ ।
हरेक कुराबाट पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बनेमात्र हामीले देखेको समृद्धिको सपना पुरा हुने गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । टोल-टोलमा रहेका आमा समूहहरु सक्रिय भएर विकासको कार्यलाई हातेमालो गरी समृद्ध पालिका बनाउने अभियानलाई साथ दिएकोमा अध्यक्ष राईले धन्यवाद ज्ञापन गर्नुभयो । पालिकाभित्र हुने हरेक विकासको कार्य नागरिकस्तरबाट भईरहँदा पालिकाको पूर्ण सहयोग हुने अध्यक्ष राईले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
साकेला गाउँपालिकामा विगत चार वर्षअघिदेखि पूर्ण सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ । उक्त कार्यक्रम मार्फत सरसफाईको क्षेत्रमा विभिन्न गतिविधिहरु हुँदै आएको छ । कार्यक्रम अन्तर्गत एक जना अधिकृतस्तरको संयोजक पालिकामा र पाँच जना सहायकस्तर चौथो तहका कर्मचारीहरु प्रत्येक वडाहरुमा कार्यरत छन् ।
प्रतिक्रिया