कार्तिक १७, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • खिदिमामा नमूनायोग्य काम, महिना दिन भन्दा बढी गरे स्थानीयले श्रमदान

    साकेला- साकेला गाउँपालिकास्थित ३ नम्बर वडा कार्यालय खिदिमा, पूर्ण सरसफाई कार्यक्रम र ९ वटै टोल विकास तथा सुधार समितिको अगुवाईमा एक महिना भन्दा बढी जनश्रमदान जुटाई विभिन्न विकासका कार्य गरिएको छ ।

    वडाका प्रत्येक टोलहरुमा महिनाको कम्तीमा एक दिन अनिवार्य रुपमा जनश्रमदान गर्नुपर्ने वडा समितिको गत असार ७ गते भएको निर्णय अनुसार हाल विभिन्न टोलहरुमा जनश्रमदान जुटाई गाउँको विकासका लागि काम भईरहेको वडाध्यक्ष गोविन्द तामाङले बताउनुभयो ।

    जनश्रमदान मार्फत सडक, गोरेटोबाटो, धार्मिकस्थल, मठमन्दिर, पाटीपौवा, चौतारा, पर्यटकीय क्षेत्रहरु, सार्वजनिक तथा सरकारी कार्यालय परिसर लगायतका स्थलहरुमा सरसफाई र मर्मतको कार्यहरु भईरहेको छ । हालसम्म उक्त वडामा ३२ वटा काम जनश्रमदान मार्फत भएको छ । गत साउन ९ गते पर्यटकीय स्थल तावाभञ्ज्याङमा रहेको वावु (चिण्डो) पोखरी जनश्रमदान मार्फत सफा गरिएपछि उक्त वडामा अभियान सुरु भएको थियो ।हालसम्म विभिन्न टोलहरुमा ३२ वटा कामहरु श्रमदान मार्फत सम्पन्न भएका छन्, वडाध्यक्ष तामाङले भन्नुभयो- वडा समितिले गरेको निर्णयले निरन्तरता पाउनेछ ।

    वडा समितिले निर्णय नै गरेर चलाएको श्रमदान अभियान देशकै उत्कृष्ट र उदाहरणीय कार्य भएको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । त्यही काम वडा र पालिकाले गर्नुपर्दा महिनौ समय लाग्ने साथै करोडौं रकम खर्च हुन्‍थ्यो, नागरिक आफै सक्रिय भएर आफ्नो टोलको विकास गरिरहनुभएको छ,- उहाँले भन्नुभयो- यो कार्य देशकै नमूना हो । नागरिक आफै सक्रिय भएर लागि पर्दा टोल, वडा र पालिका समृद्ध बन्न समय नलाग्ने अध्यक्ष राईको भनाई छ ।

    यी हुन् हालसम्म जनश्रमदान मार्फत सम्पन्न भएका कार्यहरु (फोटो फिचर) टोल अनुसार फोटो फरक भए पनि जनश्रमदानसँग सम्बन्धित छ ।

    टोल नं.-१ अन्तर्गत भएका कार्यहरु- टोल विकास तथा सुधार समिति अध्यक्ष मिल कुमार राई

    • साउन २० गते स्थानीय १५ जनाको उपस्थितिमा लामिडाँडाको मुख्य सडक र शाखा सडक मर्मत गरिएको छ भने भदौ २० गते स्थानीय १९ जनाको उपस्थितीमा खरुवा खोला सिरान र मुख्य सडक नजिकै रहेको साँघु निर्माण गरिएको छ ।त्स्तै, असोज २० गते स्थानीय ३२ जनाको उपस्थितीमा तावाभञ्ज्याङदेखि लामिडाँडा सम्मको करीव २ किलोमिटर गोरेटो बाटो सरसफाई तथा मर्मत र असोज २१ गते स्थानीय १५ जनाको उपस्थितीमा लामिडाँडा टोल भित्रको करीव २ किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाई गरिएको छ ।

    टोल नं.-२ अन्तर्गत भएका कार्यहरु- टोल विकास तथा सुधार समिति अध्यक्ष- कृष्णराम राई

    • भदौ १६ गते स्थानीय ४० जनाको भेलाले माथिल्लो सोल्माबाट तल्लो सोल्मा सम्म पुग्ने शाखा सडक मर्मत गरिएको छ भने भदौ २१ गते स्‍थानीय २९ जनाको उपस्थितीमा तावाभञ्ज्याङखोला र खोबु खोलामा काठेसाँघु निर्माण गरिएको छ ।

    टोल नं.-३ अन्तर्गत भएका कार्यहरु- टोल विकास तथा सुधार समिति अध्यक्ष- निर्मला राई

    • साउन २९ गते स्थानीय ५० जनाको भेलाले भाङ्टारदेखि खिदिमा जाने करीव एक किलोमिटर सडक मर्मत र नाचिमा खोलामा काठे साँघु निर्माण गरिएको छ । त्यस्तै, भदौ १६ गते ३ नम्बर वडा कार्यालय परिसरको सडक मर्मत र खिदिमा वडा कार्यालयदेखि खिदिमा सिरान सम्मको गोरेटो बाटो सरसफाई र मर्मत गरिएको छ । करीव एक किलोमिटर लामो बाटो सरसफाईका लागि स्थानीय ३५ जना नागरिकको सहभागिता रहेको थियो ।

    टोल नं.-४ अन्तर्गत भएका कार्यहरु- टोल विकास तथा सुधार समिति अध्यक्ष- इन्द्र बहादुर कटवाल

    • साउन २२ गते स्थानीय ४० जनाको भेलाले मुख्य सडकबाट हात्तिसुँडे सिरान जाने करीव २ किलोमिटर गोरेटो बाटो मर्मत र सरसफाई गरिएको छ भने भदौ ३ गते कोक्राको मुख्य सडकदेखि कोक्रा सिरान सम्म पुग्ने सडक मर्मत र गोरेटो बाटो सरसफाई गरिएको छ । उक्त कार्यका लागि स्थानीय ३९ जनाले श्रमदान गरेका थिए ।

    टोल नं.-५, अन्तर्गत भएका कार्यहरु- टोल विकास तथा सुधार समिति अध्यक्ष- खड्ग बहादुर खड्का

    • साउन २६ गते स्थानीय ५० जनाको उपस्थितीमा साकेला आधारभूत विद्यालय परिसर सरसफाई र बाटो मर्मत गरिएको छ भने असोज १५ गते हावा खोला देखि सहकारी भवन सौरे निस्कने साढे दुई किलोमिटर गोरेटो बाटो सरसफाई र मर्मत गरिएको छ । उक्त कार्यका लागि ५३ जना स्थानीयहरुले श्रमदान गरेका थिए । त्यस्तै असोज २० गते स्थानीय ५२ जनाको भेलाले नाचिमा खोलामा काठे साँघु निर्माण गरिएको छ ।

    टोल नं.-६, अन्तर्गत भएका कार्यहरु- टोल विकास तथा सुधार समिति अध्यक्ष- प्यारी तामाङ

    • साउन ३२ गते स्थानीय २५ जनाको भेलाले मानेभञ्ज्याङबाट ढाँडे टोल निस्कने झण्डै डेढ किलोमिटर गोरेटोबाटो मर्मत र सरसफाई गरेको छ भने भदौ ३१ गते ढाँडेबाट भुसियाडाँडा सम्मको एक किलोमिटर लामो गोरेटोबाटो सरसफाई र मर्मत गरिएको छ । उक्त कार्यका लागि स्थानीय ३२ जनाको सहभागिता रहेको थियो ।

    टोल नं.-७, अन्तर्गत भएका कार्यहरु- टोल विकास तथा सुधार समिति अध्यक्ष- प्रतापसिं लामा

    • साउन ३० गते स्थानीय ४५ जनाको उपस्थितीमा पुङ्मा जाने तावाखोला पुलबाट नेवार टोल निस्कने करीव डेढ किलोमिटर गोरेटोबाटो मर्मत तथा सरसफाई, भदौ २७ गते स्थानीय ४१ जनाको उपस्थितीमा बाघखोर जाने तावाखोला पुलबाट बोपुङ निस्कने करीव दुई किलोमिटर गोरेटोबाटो मर्मत तथा सरसफाई गरिएको छ । त्यस्तै असोज १३ गते बास्ताला जाने तावाखोला पुलबाट बोपुङ निस्कने करीव एक किलोमिटर गोरेटो बाटो र असोज १५ गते बोपुङ खेलमैदान सरसफाई तथा मर्मत कार्य सम्पन्न गरिएको छ । उक्त कार्यका लागि ३५ जना स्थानीयले श्रमदान गरेका थिए ।

    टोल नं.-८, अन्तर्गत भएका कार्यहरु- टोल विकास तथा सुधार समिति अध्यक्ष- जितेन्द्र राई

    • साउन २७ गते धमिनी चौतारादेखि देविस्थान सम्मको करीव डेढ किलोमिटर गोरेटो बाटो सरसफाई तथा मर्मत गरिएको छ । सो कार्य सम्पन्न गर्नका लागि स्थानीय ५० जनाले श्रमदान दिएका थिए । यता, ३१ जना स्थानीयको उपस्थितीमा देविस्थानदेखि किवाडाँडा सम्म जोड्ने करीव दुई किलोमिटर गोरेटोबाटो भदौ ९ गते मर्मत तथा सरसफाई गरिएको छ भने भदौ २७ गते ३६ जना स्थानीयको उपस्थितीमा डाँडाघरदेखि सेर्मे सम्म र १७ जनाको उपस्थितीमा तावाखोला देखि पुङ्मा सम्को एक किलोमिटर गोरेटोबाटो मर्मत र सरसफाई गरिएको छ । त्यस्तै, असोज १२ गते खोप केन्द्र किवादेखि ठुलढुङ्गा सम्म ३५ जनाको उपस्थितीमा गोरेटोबाटो, असोज १८ गते पत्रङ्गेदेखि स्वास्थ्य एकाई केन्द्रसम्मको करीव दुई किलोमिटर गोरेटोबाटो स्थानीय ३५ जनाको उपस्थितीमा मर्मत कार्य सम्पन्न गरिएको छ । त्यस्तै असोज १९ गते शिक्षक तथा स्थानीयहरुको भेलाले साझा आधारभूत विद्यालय भवन परिसर सरसफाई र गोरेटो बाटो मर्मत गरिएको छ ।

    टोल नं.-९, अन्तर्गत भएका कार्यहरु- टोल विकास तथा सुधार समिति अध्यक्ष- नैन बहादुर पौडेल खत्री

    • साउन २७ गते स्थानीय ३२ जनाको भेलाले वर्षादको कारण गथहिरिएको तावा खोला मर्मत गरिएको छ भने भदौ २ गते स्थानीय ३५ जनाको उपस्थितीमा वर्षादको कारण बिग्रिएको बोराटोल निस्कने सडकमा सोलिङ तथा मखमलेबाट बोराटोल पुग्ने करीव दुई किलोमिटर सडकबाटो मर्मत तथा सरसफाई गरिएको छ । त्यस्तै भदौ ३० गते बोराटोलस्थित वीरबहादुर खत्रीको घरदेखि कादुरी पुलसम्म पुग्ने करीव दुई किलोमिटर गोरेटोबाटो मर्मत गरिएको छ भने उक्त कार्यका लागि २९ जना स्थानीयले श्रमदान गरेका थिए । यता, असोज २० गते ३३ जना स्थानीयको भेलाले किवा खोलाबाट बोरा खोला सम्म करीव ३ किलोमिटर र मखमले डिहिबाट एपोसी खोला सम्मको दुई किलोमिटर गोरेटोबाटो मर्मत तथा सरसफाई गरिएको छ भने सोही दिन बोरा ओखरगैरीदेखि रुवालुङडाँडासम्मको डेढ किलोमिटर गोरेटोबाट मर्मत गरिएको छ ।

    – समाचार/फोटो श्रोत –नवीन श्रेष्ठ (पूर्ण सरसफाई कार्यक्रम, उत्प्रेरक)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया