कार्तिक २२, २०८१ बिहिबार
  • ताजा अपडेट
  • English
  • रतन्छा र खिदिमामा लगातार श्रमदान, गाउँपालिकाद्धारा सडक मर्मत

    साकेला- खोटाङको साकेला गाउँपालिकामा जनश्रमदानको लहर चलेको छ । नेपालीहरुको प्रमुख चाड दशैं र तिहार नजिकिँदै गर्दा टोल-टोलका स्थानीयहरु भेला भएर जनश्रमदान मार्फत बाटो सरसफाई कार्यलाई निरन्तरता दिईरहेका हुन् । शुक्रबार उक्त गाउँपालिकाको वडा नम्बर-२ रतन्छाबाट गाउँपालिकाको केन्द्र सम्म जोड्ने गोरेटोबाटो स्थानीयहरुले मर्मतका साथै सरसफाई गरेका छन् ।

    वडास्थित पूर्ण सरसफाई कार्यक्रम, लालिगुराँस आमा समूह, जनसेवा आमा समूह र ८ नम्बर टोल सुधार समिति धिकुर्तुङको सक्रियतामा उक्त बाटो सरसफाई गरिएको हो । गाउँगाउँमा ग्रामीण सडक पुगेसँगै पुराना गोरेटोबाटोहरुमा झोरघारी बढेर हिडडुल गर्न समेत समस्या भएपछि सरसफाई गरिएको पूर्ण सरसफाई कार्यक्रम उत्प्रेरक चुनु राईले बताउनुभयो । रतन्छामा विभिन्न टोलका सडक, गोरेटोबाटो, धार्मिक तथा सार्वजनिकस्थलहरु जनश्रमदान जुटाई सरसफाई गरिँदै आईएको छ ।

    जनश्रमदान मार्फत गोरेटोबाटो सफा गर्दै रतन्छाका स्थानीयहरु । तस्विर : चुनु राई/पूर्ण सरसफाई कार्यक्रम उत्प्रेरक

    उता, गाउँपालिकाकै ३ नम्बर वडा कार्यालय र पूर्ण सरसफाई कार्यक्रमकै पहलमा शनिबार दुई स्थानमा जनश्रमदान गरिएको छ । स्थानीय ४१ जनाको उपस्थितीमा ३ नम्बर टोल अन्तर्गत बोरा-मखमले जाने करीव तीन किलोमिटर गोरेटो बाटो मर्मत गरिएको छ भने ८ नम्बर टोल पुङ्मामा २१ जनाको समूहले करीव दुई किलोमिटर बाटो सरसफाई गरिएको पूर्ण सरसफाई उत्प्रेरक नवीन श्रेष्ठले बताउनुभयो । चाडवाडलाई लक्षित गरि बाटो सरसफाई गरिएसँगै स्थानीयलाई आवत-जावतमा सहजता हुने अपेक्षा गरिएको छ ।

    जनश्रमदान जुटाई गोरेटो बाटो सफा र मर्मत गर्दै साकेला गाउँपालिका-३, खिदिमाका स्थानीयहरु । तस्विर : नवीन श्रेष्ठ/पूर्ण सरसफाई कार्यक्रम उत्प्रेरक

    गाउँपालिकाले सुरु गर्यो सडक सफाई

    यसैबीच, साकेला गाउँपालिकाले पालिकाभित्रका ग्रामीण सडकहरु मर्मत गर्न सुरु गरेको छ । वर्षा रोकिएर दिन खुलेसँगै पालिकाले आफ्नै ब्याक-हो-लोडर मेसिन प्रयोग गरि बाटो मर्मत गर्न सुरु गरेको हो । लगातारको वर्षाका कारण सडकमा पहिरो झर्नुका साथै खहरेले सडकको बीच भाग बगाएर चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी समेत हिड्न समस्या भएको थियो ।

    सडक मर्मत गरिएपछि टोल-टोलबाट पालिकाको केन्द्र सम्म आवत-जावत गर्न र पालिकाबाट अन्यत्र यात्रा गर्न सहज हुने भएको छ । गाउँपालिकाले हरेक वर्ष वर्षाद रोकिएपछि ठूला आयोजना मार्फत निर्माण भईरहेका सडक बाहेक पालिकाभित्रका शाखा सडकहरु मर्मत गर्दै आएको छ । यस वर्ष लामो समयसम्म वर्षा भएका कारण सडक मर्मत गर्न ढिलाई भएको गाउँपालिकाले जनाएको छ । यद्यपी दशैंको फूलपाती भन्दा अगाडी पाँचवटै वडाका शाखा सडकहरु मर्मत र सफा गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया