खोटाङ- साकेला गाउँपालिकामा भईरहेको सबैभन्दा ठूलो धनराशीको अन्तर वडास्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिताको बिजेता टिमले प्राप्त गर्ने प्रथम पुरस्कार रोजगारिको शिलशिलामा दक्षिण कोरिया पुगेका साकेलाबासीहरुले प्रायोजन गरेका छन् । खोटाङको साकेला गाउँपालिका ४ खेलकुद समितिद्धारा बिहीबारदेखि आयोजना गरिएको प्रतियोगितामा साकेला कल्याणकारी संस्था दक्षिण कोरियाबाट नगद पुरस्कार एक लाख पाँच रुपैंया प्रायोजन भएको हो ।
त्यस्तै दोश्रो पुरस्कार साकेला गाउँपालिका-३, खिदिमाका खेलप्रेमी युवाहरुबाट नगद ५१ हजार ५ रुपैंया प्रायोजन भएको छ भने तेश्रो पुरस्कार ५ नम्बर वडा कार्यालय साकेला गाउँपालिकाबाट ३१ हजार ५ रुपैंया प्रायोजन भएको खेल संयोजक बुद्धिबोल राईले जानकारी दिनुभयो । त्यस्तै, प्रतियोगिताको अन्य विधागत पुरस्कारहरु समेत प्रायोजन भईरहेको उहाँको भनाई छ ।
साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बिहीबार उद्घाटन गर्नुभएको प्रतियोगिताको पहिलो चरण अन्तर्गत आज शुक्रबार पाँच खेल भएको छ । पहिलो खेल आयोजक साकेला-४ खेलकुद समिति र मुन्दुम स्पोर्टस क्लवबीच भएको खेलमा १-२ गोल अन्तरले हराउँदै मुन्धुम स्पोर्ट क्लव अर्को चरणमा प्रवेश गरेको छ ।
त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५, लफ्याङ र दिप्रुङ चुईचुम्मा-७ टेम्माबीच भएको खेलमा 0-2 गोल अन्तरले हराउँदै टेम्मा अर्को चरणमा प्रवेश गरेको छ । उता, साकेला-१ बाँझेच्यानडाँडा (ए) र (बि) बीच हुने भनिएको खेलमा सहमति पश्चात बाँझेच्यानडाँडा (ए) खेलको अर्को चरणमा प्रवेश गरेको छ ।
त्यस्तै दिप्रुङ चुईचुम्मा-३, याङशोला र साकेला-२ रतन्छा (बी) बीच भएको खेलमा ०-३ गोल अन्तरले हराउँदै साकेला-२, रतन्छा (बि) खेलको अर्को चरणमा प्रवेश गरेको छ भने साकेला-५ मात्तिम (ए) र दिप्रुङ चुईचुम्मा-७ टेम्मा बीच भएको खेलमा कुनै पनि गोल हुन सकेन ।
साकेला गाउँपालिकाको केन्द्रमा रहेको नौलाखर्क खेलमैदानमा भईरहेको खेलमा २१ टिमले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया