खोटाङ- साकेला गाउँपालिकामा जारी खुल्ला वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको क्वाटर फाईनल अन्तर्गत आज चार खेल सम्पन्न भएको छ । साकेला गाउँपालिका-४, खेलकुद समितिको आयोजनामा स्थानीय नौलाखर्क खेलमैदानमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।
पालिकाको सबैभन्दा बढी नगद पुरस्कार रहेको खेल गत बिहीबार साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले उद्घाटन गर्नुभएको थियो । आज भएको खेलमा मुन्धुम स्पोर्ट क्लव रतन्छा र साकेला-२ रतन्छा ‘बि’ बीच भएको खेलमा ३-४ गोल अन्तरले मुन्धुम स्पोर्ट क्लव सेमी फाईनलमा पुगेको छ । पहिलो र दोश्रो हाफ चरणमा गोल हुन नसकेपछि ट्राईबेकरको आधारमा गोल अन्तर निर्धारण गरिएको हो ।
त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पा र साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाबीच भएको क्वाटर फाईनलको खेलबाट ७-८ गोल अन्तरले दोर्पा सेमी फाईनलमा प्रवेश गरेको छ । खेलको पहिलो र दोश्रो हाफमा गोल हुन नसकेपछि ट्राईबेकरको आधारमा गोल निर्धारण गरिएको थियो ।
यता, खोटेहाङ गाउँपालिका-८, सिम्पानी र साकेला गाउँपालिका-५ मात्तिमबीच भएको खेलमा ०-२ गोल अन्तरले साकेला गाउँपालिका-५, मात्तिम ‘ए’ खेलको सेमी फाईनलमा प्रवेश गरेको छ ।
त्यस्तै, दिपज्योती युवा सेवा समाज टेम्मा र साकेला युवा सेवा समाज रतन्छाबीच भएको क्वाटर फाईनलको खेलबाट १-५ गोल अन्तरले हराउँदै साकेला युवा सेवा समाज रतन्छा सेमी फाईनलमा प्रवेश गरेको छ ।
भोली सेमी फाईनलको खेल अन्तर्गत मुन्धुम स्पोर्ट क्लव रतन्छा र साकेला गाउँपालिका-५, मात्तिम ‘ए’ तथा साकेला युवा सेवा समाज रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाबीच हुनेछ । खेलमा २१ टिमले सहभागिता जनाएका थिए।
प्रतिक्रिया