जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु

    साकेला- खोटाङको खिदिमामा साविकको वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता सुरु भएको छ । बिहीबार साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले उद्घाटन गर्नुभएको प्रतियोगिताको खेल शुक्रबारदेखि सुरु भएको हो । पृथ्वी युवा सङ्गठन खिदिमाको आयोजनामा दशै-तिहार लक्षित प्रतियोगितामा ३५ वटा टिम सहभागि हुने भएका छन् ।

    प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै गाउँपालिका प्रमुख राईले गाउँपालिकालाई समृद्ध पालिका निर्माण गर्ने दायित्व सबै नागरिकको भएको बताउँदै आफ्नो दायित्व निर्वाह गर्न प्रत्येक घरघरबाट लागि पर्न सके पालिका बन्न धेरै समय नलाग्ने बताउनुभयो ।

    समृद्ध पालिका निर्माणका लागि सरकारले चाहेर मात्र नहुने भएकाले हरेक नागरिकले हरेक क्षेत्रबाट गाउँपालिकाको विकासका लागि प्रयत्न गर्नुपर्ने उहाँको भनाई छ । खेलकुदको माध्यमद्वारा पालिकाको विकास गर्ने तर्फ पालिका सरकार गम्भीर भएर लागि परिरहेको र यसको समग्र विकासको लागि संस्थागत रुपमा एकेडेमी नै स्थापना गरेर यस क्षेत्रलाई अघि बढाईने समेत अध्यक्ष राईले प्रतिवद्वता व्यक्त गर्नुभयो ।

    उद्घाटन समारोहमा पूर्व पालिका अध्यक्ष अर्जुनकुमार खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष तथा साकेला गाउँपालिका सरकारका प्रवक्ता जीवन न्यौपाने खत्री, १ नम्बर वडाका वडाध्यक्ष हेमन राई, ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ, ४ नम्बर वडाका वडाध्यक्ष अर्जुन कुमार कटवाल, ४ नम्बर वडाका पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, एमाले युवानेता दुधराज तामाङ लगायतले खेलको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    यसैबीच, उद्घाटन समारोहको अवसरमा आयोजक र अतिथिबीच भलिवल प्रतियोगिता सञ्चालन गरिएकोमा अतिथि समूह विजयी भएका छन् ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया