साकेला- पर्यटकीय क्षेत्रको रुपमा रहेको खोटाङको तावाभञ्ज्याङ क्षेत्रलाई विकास गरी साकेला गाउँपालिकालाई आर्थिक रुपमा समुन्नत बनाई विश्वमा चिनाउने उद्देश्यका साथ विज्ञहरुको टोलीसँग सो क्षेत्रको स्थलगत अध्ययन गरिएको छ । प्राकृतिक रुपमा अत्यन्तै मनमोहक रहेको साकेला गाउँपालिका-३ तावाभञ्ज्याङ क्षेत्रको स्थलगत अध्ययन गरिएको हो ।
सँस्कृतविद् डा. भक्त राई, प्राज्ञ धनु याक्खा, इन्जिनियर शिशिर ढकाल, आर्किटेक इन्जिनियर प्रमिल सैंजु, सिभिल इन्जिनियर एवर्ड साह सहित गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख रवि प्रकाश राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई सहितको टोलीले स्थलगत अनुगमन गरि सो क्षेत्रमा निर्माण हुने तावाताल सहितको अन्य संरचनाहरु बारे स्थलगत अनुगमन गरिएको हो ।
तावाताल र सो क्षेत्रमा बन्ने संरचनाहरु भविष्यमा पर्यटकीय विकाससँगै इतिहाँस र सम्पती बन्नेछ । सभ्यता र संस्कृतिसँग सम्बन्धित सबै जातजाति, धर्मसंस्कार अनुसारको भौतिक संरचनाहरु सो क्षेत्रमा निर्माण गरिने गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । सो क्षेत्रमा निर्माणहुने तावाताल र साँस्कृतिक संरचनाहरु नै गाउँपालिकाको आर्थिक समृद्धिको बलियो आधार बन्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो- “तावाभञ्ज्याङ आफैमा सुन्दर पर्यटकीय गन्तव्यको रुपमा परिचित छ, त्यहाँको सुन्दरतालाई अझ निखार ल्याउन विभिन्न जातजातिको संस्कार र संस्कृति झल्कने मौलिक संरचनाहरु निर्माण गरिनेछ ।” गाउँपालिकालाई समृद्धिको उचाईमा पुर्याउनका लागि विभिन्न विषयविज्ञहरु बोलाएर उक्त क्षेत्रको अध्ययन गरिएको छ, उहाँले भन्नुभयो- देशका कुनै पनि स्थानीय तहहरुले यसरी काम गरेको छैन, साकेलाको वृहत्तर विकासको लागि र भविष्यमा गाउँपालिकालाई आर्थिक रुपमा माथि उठाउनका लागि हामी प्रयत्न गरिरहेका छौं । सबल, समुन्नत र समृद्ध पालिका निर्माण गर्न र यो योजना पुरा गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने अध्यक्ष राईको भनाई छ ।
तावाभञ्ज्याङ क्षेत्रको स्थलगत अनुगमन गर्नुहुँदै गाउँपालिका प्रमुख रवि प्रकाश राई, संसकृतिविद् डा. भक्त राई, प्राज्ञ धनु याक्खा लगायतको टोली ।
तावाभञज्याङ क्षेत्रको स्थलगत अध्ययनपश्चात सँस्कृतिविद् डा. भक्त राईले तावाभञ्ज्याङ क्षेत्रको थप पर्यटकीय विकास गर्नका लागि पालिकाले चालेको कदम सह्रानीय भएको बताउनुभयो । तावाभञ्ज्याङमा निर्माण हुने साँस्कृतिक सम्पदा विश्वकै नमूना सम्पदा निर्माण हुने उहाँको भनाई छ ।
पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको उक्त क्षेत्र विश्वकै नमूनास्थल भएको प्राज्ञ धनु याक्खाले बताउनुभयो । सो क्षेत्रमा निर्माणहुने साँस्कृतिक सम्पदाहरु विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृति झल्कने महत्वको हुने भएकाले पर्यटनको आर्षण गन्तव्य हुने उहाँको भनाई छ । सो स्थान प्राकृतिक रुपमा आफैमा सौन्दर्यले भरिपूर्ण छ, स्वर्गको टुक्राजस्तो छ, अझ त्यसलाई सिंगार्दा सुनमा सुगन्ध थपिनेछ । अब बन्ने संरचनाहरु गाउँपालिकाको विकास मात्र हैन, इतिहाँस, सम्पत्ति र कृति बन्ने उहाँको भनाई छ । सो क्षेत्रमा निर्माण हुने संरचना र तावाभञ्ज्याङको वृहत्तर विकास गर्न सकिने आधार तय गर्नका लागि हाउस अफ इन्जिनियरिङ कन्सल्टेण्ट ललितपुरले प्राविधिक सहयोग गर्ने जनाईएको छ ।
प्रतिक्रिया