खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई फाइवरको सिरक वितरण गरेर सम्मान गरेको छ। गाउँपालिकाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत विभिन्न वडाका ८३ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई जाडोमा न्यानो सिरक दिएर सम्मान गरेको हो।
सम्मान कार्यक्रम अन्तर्गत सोमबार दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा वडा कार्यालयमा कार्यक्रमको आयोजना गरेर २० जना ज्येष्ठ नागरिकलाई फाइवरको सिरक वितरण गरिएको वडा सचिव प्रकाशचन्द्र राईले जानकारी दिए। वडाको ५० हजार बजेटबाट ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो।
ज्येष्ठ नागरिकहरुलाई गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई, याम्खाका वडाध्यक्ष केशब कुमार खत्री लगायतले सिरक वितरण गर्नुभएको थियो। चिसो मौसममा न्यानो सिरक पाएपछि ज्येष्ठ नागरिकहरु खुशी भएका छन्। उनीहरुले वडा र गाउँपालिकालाई धन्यवाद दिएका छन्।
गाउँपालिकाको लक्षित वर्गको कार्यक्रम अन्तर्गत समाजका अगुवा, पदप्रदर्शक ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो। गाउँपालिकाले लक्षित वर्गका सबैलाई यसरी नै सम्मान गर्दै जाने उहाँले बताउनुभयो।
यसअघि, यहि कार्यक्रम अन्तर्गत दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँका ६७ जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका ५० जना ज्येष्ठ नागरिकलाई फाइवरको सिरक दिएर सम्मान गरिएको थियो।
प्रतिक्रिया